कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

मलेसियामा शारीरिक र यौन शोषणमा परेका ४०२ बालबालिका र किशोरकिशोरीको उद्धार

भाद्र २७, २०८१
मलेसियामा शारीरिक र यौन शोषणमा परेका ४०२ बालबालिका र किशोरकिशोरीको उद्धार

Highlights

  • धार्मिक गुरूसहित १७१ जना पक्राउ

क्वालालम्पुर — मलेसियाली प्रहरीले शारीरिक र यौन शोषणमा परेका ४०२ बालबालिका र किशोरकिशोरीको उद्धार गरेको छ । उनीहरूलाई २० वटा केयर होमबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीले धार्मिक गुरू र हेरचाह गर्नेसहित १७१ जना संदिग्धलाई पक्राउ गरेको छ ।

प्रहरी महानिरीक्षक रजारुद्दिन हुसेनले पीडितहरू एकदेखि १७ वर्षसम्मका भएको जनाएको बीबीसीले उल्लेख गरेको छ । पीडितहरूले विभिन्न प्रकारका दुर्व्यवहार सहनुपरेको र कतिपयलाई अन्य बालबालिकामाथि यौन दुर्व्यवहार गर्न बाध्य पारिएको बताइएको छ ।

ती केयर होमहरू कथित रूपमा एक प्रमुख इस्लामिक समूहसँग जोडिएको छ । तर उक्त इस्लामिक समूहले एक विज्ञप्ती जारी गर्दै कुनै पनि गलत कार्यलाई स्वीकार नगर्ने जनाएको छ ।

प्रहरी महानिरीक्षक हुसेनका अनुसार सेलान्गोर र नेगेरी सेम्बिलान राज्यका २० कल्याणकारी घरहरूमा बुधबार प्रहरीले छापा मारेको हो । यसै महिनाको सुरूमा नेगेरी सेम्बिलन राज्यको अर्को केयर होममा बाल शोषण, दुर्व्यवहार र यौन दुर्व्यवहारका समाचारहरू प्रकाशमा आएका थिए ।

रजारुदिनले १७ देखि ६४ वर्षका केही संदिग्धहरूले बच्चाहरूलाई दुर्व्यवहार गर्ने र त्यो धार्मिक उपचारको हिस्सा भएको बताउने गरेको जनाए । उनका अनुसार कतिपय बालबालिकालाई घरका अन्य बालबालिकामाथि पनि त्यस्तै यौन क्रियाकलाप गर्न सिकाउने गरिएका थियो ।

‘बच्चाहरूलाई तातो धातुका वस्तुहरू प्रयोग गरेर दण्डित’ समेत गरिएको र बिरामी भएकालाई उनीहरूको अवस्था गम्भीर नभएसम्म उपचार गर्न समेत दिइएको थिइन,’ उनले भने । बच्चाहरूलाई अस्थायी रूपमा राजधानी क्वालालम्पुरको एक प्रहरी केन्द्रमा राखिने र स्वास्थ्य जाँच गरिने रजारुदिनले बताए ।

प्रारम्भिक अनुसन्धानले धेरै बालबालिकालाई उनीहरूका आमाबाबुले धार्मिक शिक्षाका लागि केयर होमहरूमा राखेका देखिएको बीबीसीले जनाएको छ ।

प्रहरीले बाल शोषणको आरोपमा इस्लामिक ग्लोबल इख्वान समूह (जीआईएसबी) व्यापार समूहविरुद्ध अनुसन्धान सुरु गरेको केही दिनपछि २० वटा केयर होममा छापा मारिएको हो । त्यसपछि प्रहरीले दुवै घटना एकआपसमा जोडिएको पुष्टि गरेको छ ।

प्रहरी नायब महानिरीक्षक अयोब खान माइडिन पिचयले प्रारम्भिक अनुसन्धानमा जीआईएसबीको मोडस अपरेन्डीले चन्दा संकलन गर्न कल्याणकारी घर स्थापना गरेको बताएका छन् । समूहले बुधबार फेसबुकमा पोस्ट गरेको एक विज्ञप्तिमा ती आरोपहरू अस्वीकार गरेको छ । ‘कम्पनीले कानुनविरुद्ध जाने कुनै पनि गतिविधिसँग सम्झौता गर्दैन, विशेष गरी बालबालिकाको शोषणको सम्बन्धमा,’ समूहले भनेका छ ।

जीआईएसबीले २० देशमा सयौं व्यवसाय सञ्चालन गर्दै आएको छ । आतिथ्य, खाना, शिक्षा क्षेत्रमा क्रियाशील छन् । मलेसियाको मानव अधिकार आयोग वा सुहाकमले केयर होम सञ्चालन सम्बन्धमा कडा नियमहरू बनाउन आह्वान गरेको छ । ‘त्यस्ता केन्द्रहरू राम्ररी नियमन वा पर्यवेक्षण नगरिनु नै मुख्य समस्या हो,’ सुहाकमका बाल आयुक्त फराह निनी दुसुकीले भनेकी छन् ।

प्रकाशित : भाद्र २७, २०८१ १५:२३
×