कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७६

विश्व विचित्र : सर्वाधिक ट्याटु खोपाएकी महिला

भाद्र १०, २०८१
विश्व विचित्र : सर्वाधिक ट्याटु खोपाएकी महिला

काठमाडौँ — अधिकांशले रहरका कारण शरीरमा सानो–ठूलो ट्याटु खोपाएका हुन्छन् । कतिपयका लागि यो फेसन स्टेटमेन्ट पनि बन्ने गर्छ । तर, अमेरिकी सेनाबाट निवृत्त एक महिलाले भने ट्याटु खोपाएकै कारण नयाँ कीर्तिमान राखेकी छन् ।

इस्परेन्स लुमिनेस्का फुर्जिनाले आफ्नो शरीरको ९९ दशमलव ९८ प्रतिशत भागमा ट्याटु खोपाएर सर्वाधिक ट्याटुको नयाँ विश्व बनाएकी हुन् । त्यसो त उनले सर्वाधिक ८९ शरीर रूपान्तरण गरेर अर्को वर्ल्ड रेकर्ड पनि राखेकी छन् ।

३६ वर्षीया इस्परेन्सले तालुदेखि पैतालासम्म त ट्याटु खोपाएकी छन् नै, गिँजा, आँखाको सेतो भाग, जिब्रो र यौनांगमा समेत ट्याटु खोपाउन भ्याएकी छन् । शरीरभरि ट्याटु खोपाएर स्वयं जिउँदो जाग्दो क्यानभास बनेकी उनले आफूले खोपाएका ट्याटुहरूलाई ‘अन्धकारबाट सुन्दरतातर्फ’ भनेकी छन् । सन् २०२३ सेप्टेम्बर २२ मा पहिलो गिनिज वर्ल्ड रेकर्ड राखेकी उनले पछि बडी मोडिफिकेसनमा समेत रेकर्ड राखेकी हुन् । यसरी गिनिज वर्ल्ड रेकर्ड्स परिवारमा आफू पनि सामेल हुन पाएकामा इस्परेन्सले सम्मानित र अचम्मित दुवै भएको बताएकी छन् ।

यसअघि शरीरमा सर्वाधिक ट्याटु खोपाउनेको कीर्तिमान क्यार्लोट्टे गुटनवर्गले राखेकी थिइन् । उनले शरीरको ९८ दशमलव ७५ प्रतिशत भागमा ट्याटु खोपाउँदै सन् २०१७ मा उक्त रेकर्ड राखेकी हुन् । ट्याटु खोपाउँदा हुने अत्यधिक दुखाइको क्षणलाई इस्परेन्स ध्यानको समय भएको टिप्पणी गर्दै भन्छिन्, ‘मैले जिन्दगीभरका लागि साँच्ने चीजको त्यो त एउटा अत्यन्तै सानो क्षण न हो ।’ त्यसो त उनी अहिले आफ्नो ट्याटुमध्ये कुनै पनि खास नलाग्नेसमेत बताउँछिन् ।

त्यसैगरी, इस्परेन्सले बडी मोडिफिकेसन गर्न २१ वर्षदेखि सुरु गरेकी थिइन् । ‘अझै पनि केही चीज भने जस्तो राम्रो लागिरहेको छैन भने त्यसलाई कसरी राम्रो बनाउने भन्नेमा नै मेरो ध्यान जान्छ र सुरु पनि गरिहाल्छु’ यसो भन्ने उनले आफ्नो जिब्रोसमेत बीचबाट चिरेकी छन् । १० वर्षअघि नै उनले यसो गर्दै शरीरको ढाँचा फेर्ने अभियान थालेकी थिइन् । जसमा शरीरका तन्तु तन्काउनेदेखि आँखाको गेडी र गिँजालाई रंगीविरंगी बनाउनेसम्म गर्न भ्याइन् ।

१५ ठाउँमा छाला जोड्नेदेखि नाक, ओठ छेड्ने र स्तनका निप्पल हटाउनेसम्म उनले गरेकी छन् । गुप्तांगमा मात्रै उनले १८ ठाउँमा छेडेकी र ट्याटु पनि खोपाएकी बताइएको छ । ‘मलाई लाग्छ, यो स्वाभाविक हो,’ इस्परेन्स आफू परम्परागत सौन्दर्यताको मान्यतामा झुन्डिएर बस्न नचाहेको बताउँदै थप्छिन्, ‘तर मेरो अभियानले मलाई स्वतन्त्रता दिएको छ । मान्छेहरू बुझ्दैनन् अनि यसलाई नकारात्मक रूपमा लिन्छन् र विरोध गर्छन्।’ (एजेन्सी)

प्रकाशित : भाद्र १०, २०८१ ०७:२१
x
×