कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

क्यानडासँग नेपालको ठूलो अन्तरको हार

आश्विन १, २०८१
क्यानडासँग नेपालको ठूलो अन्तरको हार

काठमाडौँ — नेपाल आईसीसी मेन्स क्रिकेट वर्ल्डकप क्रिकेट लिग–टुमा मंगलबार क्यानडाको हातबाट ठूलो अन्तरले पराजित भएको छ । नेपालको ब्याटिङ फेरि एकपल्ट असफल रह्यो र क्यानडाको किंग्स सिटीस्थित माप्ले लिफ क्रिकेट मैदानमा भएको खेलमा १ सय ३ रनले पराजित रह्यो । वान डे क्रिकेटमा नेपाल क्यानडाको हातबाट पराजित भएको यो पहिलो पटक हो ।

लिग–टुमा नेपालको यो पाँच खेलमा चौथो हार हो र टिमले दुई अंक मात्रै बटुल्न सकेको छ । यो नेपालको लगातार तेस्रो हार पनि हो । क्यानाडाले भने प्रतियोगितमा लगातार चार हारको क्रमलाई रोक्दै नौ खेलमा पाँचौँ जित निकालेको छ । अब उसको दस अंक भएको छ र लिग तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

टस जितेर नेपालले क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको थियो र क्रममा आठ विकेटमा २ सय ५३ रन बनाएको थियो । जवाफमा नेपालले ४०.१ ओभरमा सबै विकेट गुमाएर १ सय ५० रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुनै पनि ब्याटरले गतिलो योगदान दिन सकेनन् । दसौं क्रममा ब्याटर करण केसीले २४ बलमा बनाएको २७ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो ।

नियमित अन्तरमा विकेट गुमाएको नेपालका लागि सन्दीप लामिछानेले २२ र ओपनर आसिफ सेखले २० रन बनाए । क्यानडेली बलरमध्ये डिलन हेलिगर घातक सावित भए र उनले ३१ रन खर्चेर पाँच विकेट लिए । उनले नेपालका दुवै ओपनरलाई आफ्नो शिकार बनाए । यस्तै अखिल कुमार र अनस पटेलले दुई/दुई विकेट लिए ।

यसअघि क्यानडाका लागि कप्तान निकोलस क्रिर्टनले सर्वाधिक ७७ रन बनाए र नटआउट रहे । उनले ४४ बलमा तीन चौका र छ छक्का प्रहार गरे । यस्तै ओपनर नवनीत धालिवालले ४८ रनको योगदान दिए । हेलिगर ब्याटबाट पनि चम्के र उनले ३० रन बनाए । उनी नै ‘प्लेयर अफ द म्याच’ भए । नेपाली बलरमध्ये सोमपाल कामी र ललित राजवंशीले दुई/दुई विकेट लिए ।

प्रकाशित : आश्विन १, २०८१ ०५:११
x
×