कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

पलेशालाई फ्रान्सेली दूतावासको सम्मान

आश्विन १, २०८१
पलेशालाई फ्रान्सेली दूतावासको सम्मान

Highlights

  • आशा र दृढ संकल्पको ज्योति तपाईंले नेपाली खेलाडीको अथाह प्रतिभा विश्वसामु प्रकट गर्नुभएको छ ।-भेर्जिनी कोर्तभाल, फ्रान्सेली राजदूत

काठमाडौँ — पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनको सम्मानमा फ्रान्सेली दूतावासले सोमबार सम्मान कार्यक्रम आयोजना गरेको छ । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत भेर्जिनी कोर्तभालले निजी निवासमा आयोजित कार्यक्रममा पलेशालाई पेरिसमा भएको पारा ओलम्पिकमा कांस्य पदक जितेकामा बधाई दिँदै उनको सफलता असाधारण भएको चर्चा गरिन् ।

अगस्ट ३० मा पेरिसमा तेक्वान्दो खेलाडी पलेशाले कांस्य पदकका लागि भएको खेलमा सर्बियाली खेलाडीलाई पराजित गर्दै नेपाललाई ऐतिहासिक सफलता दिलाएकी थिइन् । पलेशाले पदक जितेर काठमाडौं फर्किंदा सहायक राजदूत इल्सा क्यालीले एयरपोर्टमा स्वागत गरेको स्मरण गर्दै राजदूत कोर्तभालले आफूले सामाजिक सञ्जालबाट सबै जानकारी लिइरहेको सुनाइन् ।

सन् २०१२ देखि २०१५ सम्म सहायक राजदूत रहेकी कोर्तभाल दुई साताअघि नेपालका लागि फ्रान्सको राजदूत बनेर काठमाडौं आएकी थिइन् । पलेशाबारे कोर्तभालले भनिन्, ‘तपाईं आशा र दृढ संकल्पको ज्योति हुनुहुन्छ । तपाईंको यात्राले सपना देख्ने र चुनौतीहरू जित्ने साहस झल्काउँछ । तपाईंले नेपाली खेलाडीको अथाह प्रतिभा विश्वसामु प्रकट गर्नुभएको छ ।’ पलेशाले पेरिसमा पाएको समर्थन, त्यहाँको वातावरण र नेपाली टोलीको उच्च मनोबलका कारण पदक जित्न सफल भएको बताइन् ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले भविष्यमा पलेशाजस्तै खेलाडी उत्पादन गर्न संघ लागिरहेको जानकारी गराए । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठसहित नेपालबाट पेरिस ओलम्पिक र पेरिस पारा ओलम्पिक खेलेका खेलाडी सहभागी थिए ।

पेरिस पारा ओलम्पिकबाट पदक जितेर आएपछि लगातार सम्मानमा व्यस्त रहेकी पलेशा तीन दिनपछि चीन जाँदै छिन् । आर्किटेक्चरर इन्जिनियरिङमा अध्ययनरत पलेशा ओलम्पिककै लागि बिदामा आएकी थिइन् ।

प्रकाशित : आश्विन १, २०८१ ०६:३४
x
×