कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

भरपर्दी गोलरक्षक एन्जिला 

भाद्र ३०, २०८१
भरपर्दी गोलरक्षक एन्जिला 

Highlights

  • २०६५ मा फिक्कलमा जिल्लास्तरीय प्रतियोगिता खेल्ने अवसर पाएकी एन्जिला फरवार्ड पोजिसनमा खेल्थिन्, तर टिमकी गोलकिपरको अनुपस्थितिमा गोलकिपर बसेकी एन्जिलाले टिमलाई च्याम्पियन मात्र बनाइनन्, त्यही खेलबाट आफूलाई गोलकिपिङको बाटोतिर मोडिन्

पाँचथर — बाल्यावस्थादेखि नै फुटबलप्रतिको हुटहुटी रहे पनि खेलमै करिअर बनाउँला भन्ने चाहिँ सोचेकी थिइनन्, एन्जिला तुम्बापोले । तर उनै २७ वर्षीया तुम्बापो अहिले नेपाली राष्ट्रिय फुटबल टिमकी भरपर्दो गोलरक्षक हुन् । पाँचथरको फाक्तेपमा जन्मे पनि इलामको तीनघरेमा बाल्यकाल बिताउने क्रममा नै उनले फुटबलसँग साइनो गाँसिसकेकी थिइन् । त्यसो त त्यो बेला फुटबलको नाममा मोजाको बल मात्रै थियो, उनीसँग । 

‘फुटबल किनेर खेल्नु त त्यो बेला सपना नै थियो, पुराना कपडालाई थोत्रो मोजामा कोचेर पारेको डल्लोबाट नै बल बनाइन्थ्यो, आँगनदेखि बारीका पाटा, जता ठाउँ पाइन्छ त्यतै गाउँका दाजुहरूसँगै खेल्न कुद्थें,’ एन्जिलाले विगत सम्झँदै भनिन्, ‘घरबाट खेल्न जान दिनुहुन्थेन । झन् १० वर्षकी हुँदा खेल्दाखेल्दै लडेर दाहिने खुट्टो नै भाँचियो, तैपनि बल खेल्न कहिल्यै छोडिनँ ।’

स्कुलबाट फर्केपछि घरधन्दा र घाँस दाउरा गर्ने जिम्वेवारी थियो, उनको । तैपनि समय निकालेर दाजु, दिदीहरूसँगै बल खेल्न कुदिहाल्थिन् । ‘बाबाको आँखा छल्दै भागेर खेल्न जान्थें, फर्किंदा कति पटक त साँझको खाना नखाई सुत्नुपरेको छ,’ एन्जिलाले सुनाइन्, ‘त्यो बेला झुम्रोकै बल खेल्न जान पनि ठूलै संघर्ष गर्नुपर्थ्यो । पछि बिस्तारै वडा र गाविस स्तरका प्रतियोगिताहरूमा खेल्ने अवसर मिल्न थाल्यो । त्यो बेला पनि फुटबल बुट हुँदैनथ्यो, खाली खुट्टा नै खेल्थें ।’ कहिलेकाहीं अरूले फ्याँकेका जुत्ता लगाएरै पनि खेलेको अनुभव छ रे उनीसँग । समयक्रमसँगै दिदीहरू घरगृहस्थीमा व्यस्त हुन थालेपछि खेल मैदानमा एन्जिला एक्ली भइन् । केटाहरूको समूहमा खेल्न जान असहज हुन्थ्यो । ‘छिमेकीले केटाहरूसँग खेली भन्दै घरमा पोल लगाइदिन्थे, तैपनि खेल्न भने छाडिनँ,’ उनले भनिन् ।

२०६५ सालमा फिक्कलको पान्दोम टिमबाट जिल्ला स्तरीय प्रतियोगितामा खेल्ने पहिलो अवसर मिल्यो, एन्जिलालाई । जुन प्रतियोगितामा उनी मिडफिल्ड वा फरवार्ड पोजिसनमा खेल्न गइन् । तर टिमकी गोलकिपर नआएपछि कोचले गोलकिपर बस्न भने । मन नलागी नलागी गोलकिपर बसिन् । ‘हाम्रो टिम च्याम्पियन बन्यो, सबैले राम्रो खेल्यौ भनेर प्रशंसा गरे, त्यो खेल नै मेरो गोल किपिङका लागि टर्निङ प्वाइन्ट बनिदियो,’ उनले सम्झिइन्, ‘त्यसपछि टिमका साथीहरू र कोचले गोलकिपर नै बस्न सुझाव दिए, गोलकिपर खेले टिममा नियमित मौका पाउने भनेपछि गोलकिपरमा नै निरन्तरता दिएँ ।’

एन्जिलाले खेल्ने पान्दोम टिम पूर्वाञ्चल विकास क्षेत्रस्तरीय प्रतियोगिताका लागि जिल्लाबाट छनोट भयो । उनी इलामको पहिलो रोजाइको गोलकिपर भएर खेलिन् । गोलकिपिङ सिकाउने छुट्टै प्रशिक्षक थिएनन्, मुख्य प्रशिक्षकले अलिअलि मात्रै सिकाउँथे । प्रतियोगितामा उनको टिम पहिलो भयो । २०६८, फागुनमा सुदूरपश्चिममा भएको छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि उनी पूर्वाञ्चलको टिममा परिन् तर वैकल्पिक गोलकिपरका रूपमा । उनको खेल्ने सम्भावना न्यून थियो । तर संयोग, पहिलो रोजाइकी गोलकिपरले परीक्षाका कारण नखेल्ने भएपछि १३ वर्षकै उमेरमा एन्जिलाले पूर्वाञ्चल टिमको गोलपोस्टको रक्षा गर्ने जिम्मा सम्हालिन् । ‘यति सानो उमेरमै राष्ट्रियस्तरको प्रतियोगितामा खेल्न पाउनु मेरो करिअरको अर्को ‘टर्निङ प्वाइन्ट’ बन्यो,’ उनी भन्छिन् ।

धनगढीमा एन्जिलाले गजबको खेल देखाइन् । त्यो देखेर सशस्त्र प्रहरीका नरकुमार राईले एपीएफ क्लबबाट खेल्ने प्रस्ताव गरे । जागिरसँगै पढाइदिने पनि भनेपछि घरसल्लाहमा काठमाडौं लागिन् । २०६९ सालमा काठमाडौं गएर कक्षा ९ मा भर्ना भइन्, होस्टल बस्न थालिन् । एपीएफसँग मासिक ५ हजार पाउने सर्तसहित करारमा सम्झौता गरिन् । ‘त्यो पैसा होस्टलको शुल्क तिर्दै सकिन्थ्यो, गाडी भाडा तिर्नेसम्म पैसा हुँदैनथ्यो, होस्टलबाट हलचोकस्थित एपीएफ मैदान हिँडेरै पुग्थें,’ उनले भनिन् ।

एपीएफ टिममा सिनियर गोलकिपरहरू थिए । तैपनि राम्रो खेलेकै कारण १६ वर्षकै उमेरमा उनी एपीएफको पहिलो रोजाइको गोलकिपर भइन् । त्यसपछि उनको ध्यान राष्ट्रिय टिमतर्फ केन्द्रित भयो । सन् २०१४ मा पाकिस्तानमा भएको साफ महिला च्याम्पियनसिपमा पहिलो पटक राष्ट्रिय टिमबाट खेल्ने मौका पाइन् ।

सन् २०१६ मा भारतमा भएको १२ औं सागमा उनले सुरुमा मौका पाउन सकिनन् । श्रीलंकाविरुद्धको खेलमा भने पहिलो रोजाइमा नै खेलाइयो । सो खेलमा क्लिनसिटसहित डेब्यु गरिन् ।

अब उनको लक्ष्य कसरी नम्बर एक गोलरक्षक बन्ने भन्नेमा हुन थाल्यो, उनलाई । फिटनेसका लागि आफैं प्रशिक्षण गर्न थालिन् । त्यही वर्षको अन्त्यमा भारतमै भएको महिला साफ च्याम्पियनसिपमा एन्जिला सबै खेलमा पहिलो रोजाइमा परिन् । ‘खेल जिताउने–नजिताउने किपरकै मिहिनेतमा भर पर्छ, गोलकिपरले राम्रो गर्‍यो भने टिमले जित्ने सम्भावना धेरै हुन्छ,’ उनी भन्छिन् । राम्रो गर्दा ताली त पाइने नै भयो, गल्ती हुँदा गाली पनि गोलकिपरलाई नै दिइन्छ ।

एन्जिला ‘पल्सर स्पोर्ट्स अवार्ड २०७७’ को पिपुल च्वाइस अवार्डको मनोनयनमा पनि परिन् । भन्छिन्, ‘खेल्न रहर लागे पनि सानो छँदा व्यावसायिक फुटबलर हुन्छु भन्ने लागेको थिएन, शिक्षक, नर्स, इन्जिनियर हुन्छु होला भन्ने सोच्थें, तर अहिले गोलपोस्टको लम्बाइ र उचाइमा देशको सान खोजिरहेकी छु ।’ त्यसो त उनकै खेल जीवनीमा आधारित रही निर्देशक मिलन चाम्सले बायोपिक ‘एन्जिला’ निर्माणको घोषणासमेत गरेका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ ०६:०९
×