कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वर्णविजेता भिजन एक लाखसहित सम्मानित

भाद्र २९, २०८१
स्वर्णविजेता भिजन एक लाखसहित सम्मानित

काठमाडौँ — नेपाली तेक्वान्दो खेलाडी भिजन तामाङलाई शनिबार १ लाख नगदसहित सम्मान गरिएको छ । उनले दक्षिण कोरियामा भएको १४ औं अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपका स्वर्ण पदक जितेका थिए ।

अगस्ट २३–२४ मा भएको प्रतियोगितामा भिजनले पुरुष ४० केजीमुनि स्वर्ण जितेका थिए । प्रतियोगितामा नेपालबाट उनको मात्र सहभागिता थियो ।

अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले भिजनलाई १ लाख प्रदान गरेको हो । सोही अवसरमा उनलाई युएस वर्ल्ड क्लास हलिउड तेक्वान्दो एसोसिएसनका खेलाडी सेल्बा ताम्राकारले उपलब्ध गराएको २ सय अमेरिकी डलर पनि प्रदान गरिएको थियो ।

नेप्लिज तेक्वान्दो एकेडेमीका खेलाडी भिजनले घरेलु प्रतियोगितामा २१ स्वर्ण जितिसकेका छन् । उनको यो दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण हो । यसअघि उनले थाइल्यान्डमा स्वर्ण जितेका थिए ।

सोही प्रतियोगितामा निर्णायक रहेका तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्कालाई २५ हजारसहित सम्मान गरिएको थियो । उनले करिब ४० अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।

वरिष्ठ तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठलाई पनि प्रशंसा पत्रसहित सम्मान गरिएको थियो । भारतमा भएको १० औं एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताको भेट्रानमा स्वर्ण जितेका राजमन्दिर श्रेष्ठ पनि सम्मानित भए । उनीहरूलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नगद र प्रशंसा पत्र प्रदान गरेका थिए ।

प्रकाशित : भाद्र २९, २०८१ २०:१४
×