कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

अपराजित एपीएफ दोस्रो स्थानमा

भाद्र २८, २०८१
अपराजित एपीएफ दोस्रो स्थानमा

काठमाडौँ — एन्फा महिला लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन एपीएफ क्ललबले बिहीबार आफ्नो अपराजित यात्रा कायम राखेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एपीएफले वालिङ नगरपालिकालाई २–१ ले हराएको थियो । यसअघि अर्को विभागीय टिम आर्मी क्लबले वाग्मती युवा क्लबलाई ३–० ले पराजित गर्‍यो । 

एपीएफको जितमा रेनुका नगरकोटे र रश्मिकुमारी घिसिङले गोल गरेका थिए । खेलको १२ औं मिनेटमा रेनुकाले सरु लिम्बूको पासमा बक्सबाहिरबाट बल प्रहार गर्दै गोल गरिन् । रश्मिले ३८ औं मिनेटमा दोस्रो गोल थपिन् । सुरुकै थ्रु पासमा रश्मीले वालिङकी गोलरक्षक राधिका ओलीलाई बिट गर्दै गोल गरेकी हुन् ।

खेल सकिन १० मिनेटअगाडि सिसी एनटोङ्गोले वालिङका लागि एक गोल फर्काइन् । उनले अञ्जली मचामसीको पासलाई पोस्टको दिशा दिइन् । यो जितपछि एपीएफको ४ खेलबाट १० अंक भएको छ र दोस्रो स्थानमा उक्लेको छ । वालिङ भने ४ खेलबाट ६ अंकमा पाँचौं स्थानमा रह्यो ।

अपेक्षाअनुसार एपीएफ सजिलो जित निकाल्न असफल रह्यो । तर, आर्मीको जित भने अपेक्षाअनुसार नै रह्यो । यो नतिजापछि आर्मीको ९ अंक भएको छ । वाग्मती भने लगातार तेस्रो खेलमा पराजित रह्यो । ३ अंकसहित टोली सातौं स्थानमा रह्यो । आर्मीबाट विमला चौधरी र अमिशा कार्कीले एक–एक गोल गरेका थिए । अर्को गोल आत्मघाती रह्यो ।

विमलाले २६ औं मिनेटमा पहिलो गोल गरिन् । यसका लागि उनले हिमा चौधरीको पास उपयोग गरेकी थिइन् । अमिशाको गोल भने ६१ औं मिनेटमा सम्भव भएको थियो । बलमाथि नियन्त्रण गुमिसकेको स्थितिमा उनले अवसर सिर्जना गर्दै हेर्नलायक गोल गरिन् । खेलको ९० औं मिनेटमा सन्जु थिङले आत्मघाती गोल गरिन् ।


प्रकाशित : भाद्र २८, २०८१ ०६:२९
×