कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एरिका, स्यान्टु र पलेशा सम्मानित

भाद्र २७, २०८१
एरिका, स्यान्टु र पलेशा सम्मानित

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १९ औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङ र टेबलटेनिसका ओलम्पियन स्यान्टु श्रेष्ठ सिनियर वर्ष खेलाडीमा पुरस्कृत गरेको छ ।

आर्मी अफिसर्स क्लबमा बुधबार राखेपको ६१औं वार्षिकोत्सवका अवसरमा सिनियर महिलामा एरिका र पुरुषमा स्यान्टु सम्मानित भएका हुन् । दुवै समान एक लाख रुपैयाँसहित सम्मानित भए । गत वर्ष भएको एसियाली खेलकुदमा एरिकाले ऐतिहासिक रजत जित्दा स्यान्टुले दक्षिण एसियाली छनोट प्रतियोगिता जितेर पेरिस ओलम्पिक खेलेका थिए ।

जुनियरतर्फ पुरुषमा क्रिकेटका दीपेश कँडेल र महिलामा एथलेटिक्सकी देविकीकुमारी धामी सम्मानित भए । दुवैलाई ५० हजारसहित ट्रफी प्रदान गरियो ।

पारा एथलिट सम्मान चीनको हाङचाउमा चौथो पारा एसियाली खेलकुदकी कांस्य पदक जितेकी पलेशा गोवर्धर्नले पाइन् । भर्खरै पेरिस पारा ओलम्पिकमा पनि ऐतिहासिक कांस्य पदक जितेकी पलेशालाई ५० हजारसहित सम्मानित गरिएको हो ।

सोही अवसरमा राखेपले पलेशाका प्रशिक्षक कविराज नेगी लामासहित आमाबुवा मनिता र प्रदीपलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो । पलेशा र उनका अभिभावकलाई सम्मान गर्दै प्रधानमन्त्री केपी ओलीले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य जितेकी पलेशालाई सरकारले ६५ लाख रुपैयाँ प्रदान गर्ने र त्यसमा कुनै कर नलगाइने जानकारी जनाए ।

अखिल नेपाल कबड्डी संघ र नेपाल तेक्वान्दो संघले वर्ष संघको रूपमा सम्मान पायो । प्रशिक्षक कुशल श्रेष्ठले भने राखेपको करार प्रशिक्षकतर्फ पुरस्कार पाए । करातेका प्रशिक्षक श्रेष्ठले नगद १० हजार रुपैयाँसहित ट्रफी पाए । खेल पत्रकारतर्फ अवार्ड नागरिकका अनिल मल्ल ठकुरी र अनलाइनखबरकी नमिता दाहाल सम्मानित भए ।

वार्षिकोत्सवको अवसरमा प्राविधिक र प्रशासनिकतर्फ उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार कबड्डीका प्रशिक्षक विष्णुदत्त भट्टले पाए । कबड्डीले एसियाडमा कांस्य पदक जितेको थियो । प्रशासनतर्फ हीराप्रसाद पौडेल सम्मानित भए । दुवैलाई २५ हजार रुपैयाँसहित सम्मान गर्‍यो । उत्कृष्ट परिषद् सेवा पुरस्कार प्राविधिकमा टेबलटेनिस मुख्य प्रशिक्षक राजेन्द्र कपाली र प्रशासनमा विरोधविक्रम जिसी १५ हजार रुपैयाँसहित सम्मानित भए ।

परिषद् सेवा पुरस्कारमा प्राविधिकतर्फ तेक्वान्दोका बलराम लामा र प्रशासनिकमा दुर्गादेवी बस्नेत सम्मानित भए । दुवै १० हजारसहित सम्मानित भए । करारमा कर्मचारीतर्फ कृष्णहरि घिमिरे १० हजारसहित सम्मानित भए । उत्कृष्ट खेल संघमा नेपाल कराते महासंघ, उत्कृष्ट स्थानीय तहमा घोडाघोडी नगरपालिका (कैलाली) र प्रायोजकमा सूर्य नेपाल प्रालिलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।

सोही अवसरमा राखेपले आफ्ना पूर्व सदस्य–सचिव जीवनराम श्रेष्ठ, हरिबाबु चौधरी, युवराज लामा र रमेश सिलवाललाई पनि सम्मान गरेको थियो । अन्य सदस्यसचिव भने कार्यक्रममा उपस्थित थिएनन् ।

उनीहरूलाई राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीसहित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, राखेपका सदस्यसचिव टंकलाल घिसिङ, मन्त्रालयका सचिव सुमनराज अर्याललगायतले सम्मानपत्र प्रदान गरेका थिए । राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिएको थियो । २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको दिनलाई राखेपले आफ्नो वार्षिकोत्सवका रूपमा मनाउँदै आएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:३२
×