कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

श्रीलंकामा नेपाली टोली पराजित

भाद्र २२, २०८१
श्रीलंकामा नेपाली टोली पराजित

काठमाडौँ — श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली शुक्रबारको अभ्यास खेलमा पराजित भएको छ । प्रमुख खेलाडी रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीको अनुपस्थितिमा सोमपाल कामीले नेतृत्व गरेको नेपाली टोलीलाई श्रीलंका डेभलपमेन्ट टोलीले ५ विकेटले हराएको हो । 

ग्लोबल टी–२० लिग खेल्न क्यानडा गएका रोहित र दीपेन्द्र उतै छन् । श्रीलंकाली टोलीले टस जितेपछि ब्याटिङमा आएको नेपाल ४० ओभर खेल्दै १ सय ५९ रनमै अलआउट भयो । २४ ओभरमा १ सय रन पुग्नु अगाडि नै ६ विकेट गुमाइसकेको नेपाल त्यसपछि फेरि खेलमा फर्किन सकेन ।

ओपनर आसिफ शेख शून्य, अनिल साह ३ र सन्दीप जोरा ६ रन बनाई आउट भए । अर्का ओपनर कुशल भुर्तेलले सर्वाधिक ४३ रन बनाए । उनले ५० बलमा ४ चौका र १ छक्का प्रहार गरे । मध्यक्रममा आरिफ शेखले २० र कुशल मल्लले ३५ रन बनाई नेपाली इनिङ्स तानेका थिए ।

आरिफले ३३ बलमा २ चौका र मल्लले ५५ बलमा २ छक्का प्रहार गरे । सोमपाल २, गुलशन झा ५, करण केसी १५ र आकाश चन्द ३ रनमा आउट भए । ललित राजवंशी ३ रन बनाएर अविजित रहे । श्रीलंका डेभलपमेन्टबाट गरुका संकेथले ४ विकेट लिए । उनले ७ ओभरमा ३९ रन खर्चेका थिए । थानुका दबारेले २ तथा धनञ्जय लक्षण, चामिन्दु विजेसिङ्घा र अशेन डानियलले १–१ विकेट लिए ।

श्रीलंकाली टोलीले २६.५ ओभरमै लक्ष्य पूरा गर्‍यो । के सन्जुलाले ६८ रन बनाएर घरेलु टोलीलाई जिताए । ओपनरद्वय पुलिन्दु परेरा ९ र दबारे ६ रन बनाई आउट भएको अवस्थामा सन्जुलाले ६० बलमा १० चौका प्रहार गरे । अशेन वन्दाराले ३४, रविन्दु रासान्थाले २५ रन बनाई उनलाई राम्रो साथ दिए । नेपालबाट सोमपाल र गुलशनले २–२ तथा ललितले १ विकेट लिए । सोमपालले ४ ओभरमा ३३ र गुलशनले ४ ओभरमा २६ रन खर्चिए ।

प्रकाशित : भाद्र २२, २०८१ ०५:२०
x
×