कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

एन्फा महिला लिग : वालिङको पहिलो जित

भाद्र २१, २०८१
एन्फा महिला लिग : वालिङको पहिलो जित

काठमाडौँ — कोशी प्रदेशले एन्फा महिला लिग फुटबलमा बिहीबार लगातार दोस्रो जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा कोशीले वाग्मती युथ क्लबलाई २–१ ले पराजित गर्‍यो । अर्को खेलमा वालिङ नगरपालिकाले कर्णाली प्रदेशलाई ४–० ले पराजित गर्‍यो । 

दिनको पहिलो खेलमा प्राप्त जितपछि कोशी ६ अंकसहित लिग तालिकाको शीर्षस्थानमा रह्यो । वाग्मती भने पहिलो हारपछि ३ अंकमा रह्यो । वाग्मतीले नै २६ औं मिनेटमा विष्णुमाया बलको गोलबाट अग्रता लिएको थियो । यो अग्रता लामो समय भने टिकेन र समीक्षा मगरले गोल गर्दै २९ औं मिनेटमा खेल बराबरीमा ल्याए ।

निर्णायक गोल भने आत्मघाती रह्यो । यो गोल वाग्मतीका लागि कप्तान दिव्या मगरको नाममा रह्यो । दिनको दोस्रो खेलमा वालिङका लागि युगान्डाकी फरवार्ड ज्याकलिन नसालीले ह्याटिक गरिन् । एक अर्को गोल सुक्रिया मियाको नाममा रह्यो । वालिङको यो पहिलो जित हो । टोलीको खातामा ३ अंक भयो । नसालीले दसौं मिनेटमा पहिलो गोल गरेपछि ४१ र ७३ औं मिनेटमा थप दुई गोल गरिन् । सुक्रियाले भने ८९ औं मिनेटमा गोल गरेकी हुन् । शुक्रबार दुई खेल हुनेछ । त्यसमध्ये पहिलो खेलमा संकटाले चन्द्रपुर नगरपालिकाको सामना गर्नेछ । दोस्रो खेलमा पुलिस र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।


प्रकाशित : भाद्र २१, २०८१ ०५:२९
x
×