कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

पलेशाका प्रशिक्षकलाई नियुक्तिका लागि सिफारिस

भाद्र २०, २०८१
पलेशाका प्रशिक्षकलाई नियुक्तिका लागि सिफारिस

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी तेक्वान्दोकी पलेशा गोवर्धनका प्रशिक्षक कविराज नेगी लामालाई राखेपमा सेवा गर्ने गरी प्रशिक्षक (अधिकृत तृतीय) मा नियुक्तिका लागि सिफारिस गरेको छ । राखेपले युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गरेको हो ।

विगतमा पनि विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडी तथा उनीहरूका प्रशिक्षकलाई सफलताको कदरस्वरुप राखेपमा सेवा गर्ने गरी नियुक्ति दिने प्रचलन थियो ।

अन्तर्राष्ट्रिय लेभल–२ पारा तेक्वान्दो प्रशिक्षक लामाले विभिन्न अन्तर्राष्ट्रिय पारा तेक्वान्दोमा प्रशिक्षकका रूपमा हालसम्म नेपाललाई ११ पदक दिलाएका छन् । त्यसमा ३ स्वर्ण, २ रजत र ३ कांस्य छ । अहिलेसम्म लामा स्वयंसेवक प्रशिक्षक हुन् ।

पेरिस पारा ओलिम्पिकमा नेपालले जितेको कांस्य नेपाली खेलकुदमा पारा ओलम्पिकको ठूलो उपलब्धि हो । ग्रीष्मकालीन ओलम्पिकमा नेपालले हालसम्म पदक जित्न सकेको थिएन । नेपालले पारा ओलम्पिकमा सन् २००४ को एथेन्सदेखि भाग लिन थालेको हो ।

राखेपले पेरिस पारा ओलिम्पकमा पदक जित्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र नेपाल तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद विकास नियमावली–२०७९ मा व्यवस्था भएअनुसार नगद पुरस्कार सिफारिस गरिसकेको छ ।

प्रकाशित : भाद्र २०, २०८१ २१:००
x
×