कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ४२

वाग्मतीकी अस्मिताको ह्याट्रिक 

भाद्र १८, २०८१
वाग्मतीकी अस्मिताको ह्याट्रिक 

Highlights

  • आफ्नो पहिलो खेलमा तीन अंक लिने योजना सफल भएको वाग्मतीका प्रशिक्षक सोनम लामाको भनाइ

काठमाडौँ — एन्फा महिला लिगले पहिलो ह्याट्रिक गोल हेर्न लामो समय कुर्नुपरेन । सोमबार प्रतियोगिताको दोस्रो दिन नै सम्भव भयो । यो रह्यो अस्मिता खवासको नाममा । उनकै तीन गोलको उत्कृष्ट प्रदर्शन मदतमा वाग्मती युथ क्लब सुदूरपश्चिमविरुद्ध सजिलै विजयी रह्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा अस्मिताले नै वाग्मतीबाट पहिलो गोल गरिन् । यो १७ औं मिनेटमा भएको थियो । त्यसका लागि पेनाल्टी एरियाबाट गरिएको प्रहार गोलमा परिणत भयो । त्यसपछि सहारा लिम्बूले २६ औं र आरती भुजेलले ३७ औं मिनेटमा एक–एक गोल थपेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार महिला लिगमा बलका लागि वाग्मती युथ (सेतो) र सुदूरपश्चिमका खेलाडी । तस्बिर सौजन्य : एन्फा

अस्मिताले ह्याट्रिकका लागि अन्तिम दुई गोल भने दुई मिनेट अन्तरमा भएको थियो । उनले ८० औं मिनेटमा आफ्नो दोस्रो गोल गरे लगत्तै ८२ औं मिनेटमा तेस्रो गोल पनि थपिन् । अस्मिताको दोस्रो गोल पनि पहिलोकै पुनरावृत्ति थियो । उनको पोस्ट नजिकबाट गरेको प्रहारले गोलको रूप लिएको थियो ।

तेस्रो गोलका लागि उनले केही उचाइ दिएर गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । खेलपछि वाग्मतीका सहायक प्रशिक्षक सोनम लामाले जित र त्यसमा प्राप्त ३ अंकमा खुसी व्यक्त गरे । उनको भनाइ थियो, ‘हाम्रो योजना नै तीन अंक लिने थियो, त्यसमा सफल रह्यौं ।’ उनले तीन विदेशी खेलाडी अनुबन्ध गरे पनि विभागीय टिमविरुद्ध खेल्दा गाह्रो हुने माने ।

प्रशिक्षक लामाले थपे, ‘हामीलाई सोझै खेल्ने अवसर दिएकामा धन्यवाद । मधेशबाट दुई टिम आएको छ, चन्द्रनिगाहपुर र वाग्मती । दुई टिम हुँदा खेलाडी बाँधिएका छन्, त्यसैले केही गाह्रो हुन सक्छ ।’ सुदूरपश्चिमका प्रशिक्षक दीपेश योञ्जन लामाले भने आफ्ना खेलाडी अधिकांश नयाँ रहेको हुनाले प्रतियोगितामा गाह्रो हुने बताए ।

उनको तर्क थियो, ‘नयाँ खेलाडी धेरै छन्, त्यसैले जति खेल्यो, त्यसमा पनि खुसी छु । हामी यहाँ दुई दिनको तयारीपछि खेल्न आएका छौं । पुरानो टिमका खेलाडी नहुँदा गाह्रो हुने निश्चित छ । पुरानो टिम भएको भए नतिजा फरक हुने थियो । खेलाडी र संघबीच के विवाद हो, मलाई थाहा भएन । पुराना खेलाडी नियमित प्रशिक्षणमा थिए ।’

प्रकाशित : भाद्र १८, २०८१ ०५:४५
x
×