कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

रेडपान्डा ट्रेल म्याराथन ५ असोजमा

भाद्र १७, २०८१
रेडपान्डा ट्रेल म्याराथन ५ असोजमा

ताप्लेजुङ — आगामी असोज ५ गते अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन हुने भएको छ । ‘अन्तर्राष्ट्रिय रेडपान्डा डे’ को अवसर पारेर सदरमुकाम फुङलिङदेखि पाथीभरा मन्दिर हुँदै पुन: सदरमुकामसम्म म्याराथन गर्न लागिएको हो । सेप्टेम्बरको पहिलो शनिबारलाई रेडपान्डा दिवसको रुपमा मनाउने गरिन्छ ।

फुङलिङ नगरपालिका र रेडपान्डा नेटवर्कको आर्थिक सहयोगमा हिमाली संरक्षण मञ्चले गरेको प्रतियोगितामा चारवटा विधामा पुरस्कार राखिएको छ ।

समग्र प्रतिस्पर्धीमध्येको पहिलो हुने धावकले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । पुरुष र महिला धावकले क्रमश ५०, ३० र २० हजारका दरले प्रथम, द्वितीय र तृतीय पुरस्कार पाउने छन् । रेडपान्डा करिडोरको रुपमा रहेको ताप्लेजुङ, पाँचथर र इलामका प्रतिस्पर्धीले १५, १० र ५ हजार प्राप्त गर्ने हिमाली संरक्षण मञ्चका कार्यवाहक अध्यक्ष भिङमारे लिम्बूले बताए ।

उनका अनुसार सबै धावकका लागि ४८ किलोमिटर दूरी निर्धारण गरिएको छ । ‘असोज ५ गते बिहान सबै प्रतिस्पर्धीलाई एकै साथ कुदाउँछौ,’ लिम्बूले भने, ‘उहाँहरुमध्ये पहिलो पटक आइपुग्ने विनर हुनुहुनेछ, दोश्रो पटक पुरुष आइपुगे पुरुषतर्फको प्रथम र महिला आइपुगे महिलातर्फको पहिलो हुनेछ ।’

तीन जिल्लाका प्रतिस्पर्धीको छुट्टै रेकर्ड राखिने आयोजकले जनाए । अन्तर्राष्ट्रिय धावकका लागि प्रवेश शुल्क अमेरिकी डलर १ सय रहेको छ । राष्ट्रिय धावकले ३ हजार र स्थानीयले १ हजार रुपैयाँ शुल्क तिर्नु पर्ने छ ।

दौडिँदा आवश्यक पर्ने औषधि, पानी, खाद्य सामग्री लगायतको व्यवस्थापन गरिने जनाइएको छ । अनलाइन मार्फत आवेदन दिने व्यवस्था मिलाइएको मञ्चले जनाएको छ । विश्वमै दुर्लभ रेडपान्डाको संरक्षण सन्देश देश विदेशमा पुर्‍याउने उद्देश्यले यो प्रतियोगिता नेपालमा पहिलो पटक गर्न लागिएको हो ।

ताप्लेजुङमा २०६२ सालदेखि खुला पाथीभरा म्याराथन र हाफ महिला म्याराथन हुँदै आएको छ । गत वर्षपनि यो प्रतियोगिता सञ्चालन गरिएको थियो । यसवर्ष हाफ नराखी सबै धावकका लागि फुल म्याराथन गर्न लागेको हो ।

सदरमुकाम फुङलिङबाट सुकेटार बिनानस्थल हुँदै देउराली, काफ्लेपाटी, माथिल्लो फेदी, पाथीभरा मन्दिर पुगेर फर्कने धावनमार्ग कायम गरिएको छ । छ वटा स्थानमा जाँच स्थल राखिने छ । नेटवर्कले अल्ट्रा धावक मिरा राईको टोलीलाई ल्याएर यस अघि धावन स्थलको सर्भे गरेको थियो ।

पाथीभरा क्षेत्रमा रेडपान्डा पाइने र यो क्षेत्रमा संरक्षणको काम पनि भइरहेकाले म्याराथनका लागि पनि यही क्षेत्र रोजिएको रेडपान्डा नेटवर्कले जनाएको छ ।

प्रकाशित : भाद्र १७, २०८१ १८:२१
x
×