कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

चार टिमका महिला भलिबल खेलाडी सम्मानित

चार टिमका महिला भलिबल खेलाडी सम्मानित

काठमाडौँ — नेपाल भलिबल संघ (एनभीए) ले काभाका विभिन्न प्रतियोगितामा पदक जितेका चार भलिबल टोलीलाई शनिबार नगदसहित सम्मान गरेको छ ।

काभा बिच भलिबलको स्वर्ण र रजत विजेता, काभा महिला भलिबल नेसन्स लिगको रजत विजेता र काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको कांस्य विजेता टोलीलाई नगदबाट सम्मानित गरियो ।

काठमाडौंमा सम्पन्न काभा नेसन्स लिगमा उपविजेता बनेको महिला टोलीका खेलाडीलाई जनही १ लाख २ हजार रुपैयाँ प्रदान गरिएको थियो । अरुणा शाहीको कप्तानीमा रहेको नेपाली महिला टोलीले पहिलो पटक भारतलाई हराएर इतिहास रचेको थियो । फाइनलमा भारतसँग नै पराजित भएपछि नेपालले उपविजेता बनेको हो । टोलीका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई १ लाख २ हजार, सहायक प्रशिक्षक भरत यादवलाई ९२ हजार, अफिसियल लोकेन्द्र कुँवर र म्यानेजर नीलम वज्राचार्यलाई जनही ८२ हजार रुपैयाँसहित सम्मानित गरियो ।


भुटानमा सम्पम्म काभा बिच भलिबलमा नेपालको महिला टोलीले स्वर्ण र पुरुष टोलीले रजत जितेको थियो । स्वर्ण विजेता कमला पुन र मनीषा चौधरीले जनही ६० हजार तथा पुरुषका रजत विजेता मानबहादुर श्रेष्ठ र दिल सुनारले समान ३० हजार रुपैयाँ पाए । बिच भलिबलका प्रशिक्षक रुपेश विष्टलाई ४० हजारसहित सम्मानित गरियो ।

माल्दिभ्समा भएको काभा यू–२० महिला च्याम्पियनसिपका कांस्य विजेता टोलीका सदस्यलाई जनही १५ हजार प्रदान गरियो ।

खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतो, सहाना प्रधान स्मृति फाउण्डेसनकी अध्यक्ष रामकुमारी झाँक्रीलगायतले पुरस्कार वितरण गरे ।

प्रकाशित : भाद्र ८, २०८१ २०:१४
x
×