कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०४

एरिका ब्रान्ड एम्बासडर, मन्त्रीहरूलाई स्वागत

एरिका ब्रान्ड एम्बासडर, मन्त्रीहरूलाई स्वागत

काठमाडौँ — राइट पाथ कन्सल्टेन्सी ग्रुपले १९ औं एसियाली खेलकुदकी रजत विजेता करातेकी एरिका गुरुङलाई शुक्रबार ब्रान्ड एम्बासडरमा चयन गरेको छ ।

राइट पाथका प्रमुख कार्यकारी अधिकृत एवं एफएनसीसीआईका केन्द्रीय सदस्य राजेश श्रेष्ठ, एरिका र नेपाल कराते महासंघका महासचिव दावा गुरुङले ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राइट पाथले एरिकालाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन, प्रशिक्षणलगायतमा सहयोग गर्ने सीईओ श्रेष्ठले जानकारी गराए । एरिकाले राइट पाथको प्रवर्द्धनमा सहयोग गर्नेछिन् । त्रिपुरेश्वरस्थित कराते महासंघको कार्यालयमा भएको सम्झौता १ वर्षसम्म कायम रहनेछ ।

नेपाल कराते महासंघले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र वाग्मती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनको सम्मानमा शुक्रबारै स्वागत कार्यक्रम गरेको थियो ।

उप्रधानमन्त्री सिंहले अन्तर्राष्ट्रियजगतमा राष्ट्रलाई चिनाउन खेलकुद क्षेत्रको ठूलो भूमिका रहेको धारणा व्यक्त गरे । खेलकुदमन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि सबै मिलेर एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । प्रदेशका खेलकुदमन्त्री महर्जनले खेलकुदको महत्व बुझेरै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेको बताए ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सम्मानित सबैसँग खेलकुदको राम्रो अनुभव रहेको बताउँदै उहाँहरूको कार्यकालमा खेलकुद क्षेत्र र खेलाडीमा नयाँ उर्जा सञ्चार हुने विश्वास व्यक्त गरे ।

कराते महासंघका महासचिव दावा गुरुङले खेलकुदमा ‘राइट म्यान, राइट प्लेस’ अवधारणा लागू गर्न सके अपेक्षित विकास सम्भव हुने धारणा व्यक्त गरे । करातेका नवनियुक्त मुख्य प्रशिक्षक दीपक श्रेष्ठले सातदोबाटोस्थित कराते हलमा होस्टेल बनाउने योजना रहेको बताए ।

सोही कार्यक्रममा एरिकालाई राइट पाथ कन्सल्टेन्सी ग्रुपले १ लाख नगदसहित सम्मान गरेको थियो । एरिकाका प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रकाशित : भाद्र ७, २०८१ २०:१७
x
×