कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

एभरेस्ट महिला भलिबल लिग : चितवन शक्तिमा दुई भारतीय र गण्डकीमा रुसी खेलाडी

भाद्र २७, २०८१
एभरेस्ट महिला भलिबल लिग : चितवन शक्तिमा दुई भारतीय र गण्डकीमा रुसी खेलाडी

काठमाडौँ — चितवन शक्तिले वात्सल्य एभरेस्ट महिला भलिबल लिगका लागि एकै दिन बुधबार दुई विदेशी खेलाडीको घोषणा गरेको छ । यससँगै चितवनले तीन विदेशी खेलाडीको कोटा पनि पूरा गरेको छ । चितवनले भारतीय खेलाडीद्वय सूर्या एस र केपी अनुश्रीलाई टिममा अनुबन्ध गरेको हो । 

चितवन शक्तिले अजरबैजानकी आउटसाइड हिटर केन्सिया पावेल्निकोलाई लिइसकेको थियो । नेपालमा पहिलो पटक हुन लागेको फ्रेन्चाइजवेस प्रतियोगितामा एउटा टोलीमा तीन विदेशी खेलाडी राख्न पाउन प्रावधान छ ।

प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा असोज १४ देखि १९ सम्म हुँदै छ । मिडल ब्लकर सूर्या नेपाली भलिबलका लागि परिचित अनुहार हुन् । उनले यसअघि नेपाली भलिबल लिगहरूमा एभरेस्ट क्लब बुटबलबाट खेलिसकेकी छन् । उनले अघिल्लो महिना भएको क्लब च्याम्पियनसिप लिगमा उत्कृष्ट ब्लकरको उपाधि जितेकी थिइन् । २०८० मा भएको एनभीए लिगमा पनि उनले उत्कृष्ट स्पाइकरको उपाधि जितेकी थिइन् ।

अनुश्री भारतीय युवा स्टार खेलाडी हुन् । उनलाई यस प्रतियोगिताका लागि चितवनले आउटसाइड हिटरको रूपमा टिममा भित्र्याएको हो । उनले नेपालमा यस अघि एनभीए क्लब च्याम्पियनसिप र एनभीए लिगमा एभरेस्ट क्लबबाट खेलेकी थिइन् । उनी क्लब च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी र एनभीए लिगमा उत्कृष्ट स्पाइकर भएकी थिइन् । नेपाली महिला राष्ट्रिय टिमकी कप्तान अरुणा शाही चितवनको मार्की खेलाडीको रूपमा रहेकी छन् ।

गण्डकीमा रुसी खेलाडी

गण्डकी थन्डर्सले एभरेस्ट भलिबल लिगका लागि पहिलो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । गण्डकीले रसियाकी अपोजिट हिटर एलिसा ट्रबियकलाई अनुबन्ध गरेको हो । एलिसा रसिया र क्यानडाको घरेलु लिगमा चर्चित अनुहार हुन् । उनले क्यानडाको योर्क युनिभर्सिटीबाट लगातार दुई सिजन ओन्टारियो युनिभर्सिटी प्रतियोगिता खेलेकी छन् । उनले रसियामा हुने भिस्चा लिग पनि खेलेकी छन् ।

पोखरा थन्डर्सका मालिक सौरभ केडियाले रसियाबाट एउटी प्रभावशाली खेलाडी अनुबन्ध गर्न पाउादा धेरै खुसी लागेको बताए । टिमका निर्देशक विकास खेतानले टिमले अन्य दुई खेलाडीको पनि अनुबन्धको तयारी गरेको र छिटै सार्वजनिक गर्ने जनाएका छन् । एलिसाको आगमनले गण्डकीलाई प्रतियोगितामा ठूलो हौसला मिल्ने अपेक्षा गरिएको छ । राष्ट्रिय भलिबल टोलीकी सरस्वती चौधरी मार्की प्लेयर रहेको गण्डकीले यसअघि ८ नेपाली खेलाडीको नाम सार्वजनिक गरिसकेको छ ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:३१
×