कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

महिला लिग फुटबल : कोशीलाई रोक्दै पुलिस क्लब शीर्षमा

भाद्र २७, २०८१
महिला लिग फुटबल : कोशीलाई रोक्दै पुलिस क्लब शीर्षमा

Highlights

  • अभ्यास गर्न नपाउँदा कोशी टिमको प्रदर्शनमा असर

काठमाडौँ — एन्फा महिला लिग फुटबल खेल्न राजधानीमा रहेको कोशी प्रदेशलाई एउटा ठूलै समस्या भएको छ । अभ्यास त गर्ने तर कहाँ ? मंगलबार अभ्यासकै लागि कोशी टिम सातदोबाटोको एन्फा कम्प्लेक्स त पुगेको थियो । केही पनि नगरी फर्किन बाध्य रह्यो । कारण ?

कोशी मैदानमा पुग्दा अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीहरू मनोरञ्जनका लागि खेलिरहेका थिए । पुलिस क्लबविरुद्धको खेलमा बुधबार हारेपछि कोशीका मुख्य प्रशिक्षक श्याम मानन्धरको गुनासो थियो, ‘हामीले हिजो अभ्यास नै गर्न पाएनौं ।’

कोशीले प्रशिक्षण नै गर्न नपाउने गरेर मज्जाका लागि खेलिरहेकामा प्रमुख थिए, एन्फाका महासचिव किरण राई । त्यसको सिधा–सिधा प्रभाव टिममा पर्‍यो वा परेन, त्यो खोजीको विषय भयो । तर, यही टिम पुलिसको हातबाट नराम्रोसँग पराजित भएको छ । यो खेलअघि लगातार तीन खेल जितेर ९ अंकसहित कोशी नै शीर्षमा थियो । खेलपछि कोशी दोस्रो स्थानमा झरेको छ । कम्तीमा खेल अगाडि कोशी कागजमा राम्रो थियो, खेलको पहिलो हाफमा टोलीको प्रदर्शन ठीकै थियो ।

तर, दोस्रो हाफ आइपुग्दा पुलिस यति धेरै हाबी भयो कि खेलको नतिजामात्र हेर्ने हो भने यो एकपक्षीय नै देखिन्छ । ‘मलाई लागेको थियो, कोशीले राम्रो चुनौती पेस गर्नेछ तर सकेन । हाम्रो खेल निकै बलियो रह्यो । आजको खेल चित्तबुझ्दो रह्यो,’ पुलिसका प्रशिक्षक भोला सिलवालले भने । यसको ठीक विपरीत कोशीका प्रशिक्षक मानन्धरले स्वीकारे, ‘हाम्रो प्रदर्शन योजनाअनुसार रहेन । हामीले अपेक्षाअनुसार खेल्न सकेनौं ।’

खासमा पहिलो हाफमा केही राम्रा आक्रमण बुन्ने काम कोशीले नै गरेको थियो । पुलिसकी गोलरक्षक उषा नाथले केही उत्कृष्ट बचाउ गरिन् । ‘अगेन्स्ट रन अफ प्ले’ पुलिसले २४ औं मिनेटमा अग्रता लिएको थियो । अनुष्का शेर्पाले आकर्षक देखिने गोल गरिन् । दोस्रो हाफ सुरु भएको एक मिनेट पनि बित्न पाएको थिएन निर्मला उपाध्यायले दोस्रो गोल थपिन् । सम्झना लावतीले ८० औं मिनेटमा तेस्रो गोल गरिन् भने ८८ औं मिनेटमा सम्भव चौथो गोल अमृता जैसीको नाममा रह्यो ।

यो जितपछि पुलिसको ४ खेलबाट १० अंक भएको छ । टोली अहिलेसम्म अपराजित छ । सुरुमै एपीएफसँग बराबरी खेलेयता पुलिसको यो लगातार तेस्रो जित हो । सुदूरपश्चिम र वाग्मती युवा क्लबलाई हराएपछि अहिलेको जित निस्केको हो । कोशीले भने विभागीय टिमको पहिलोपल्ट सामना गरेको थियो । त्यसमा आत्मसात् गरेको हारपछि टोली ९ अंकमै सीमित रह्यो ।

संकटाका लागि भने बुधबारको दिन ऐतिहासिक रह्यो । संकटा महिला फुटबल खेल्ने पहिलो माथिल्लो डिभिजनको क्लब बनेको थियो, यही संकटाले पहिलो जित निकालेको छ । यसका लागि धन्यवाद दिनुपर्नेछ, दुई विदेशी खेलाडीलाई । संकटाले कर्णालीलाई हराएकोमा उक्त खेलमा सेलिना अनिमाले पहिलो गोल गरिन् । त्यो पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा थियो । बक्सको ठीक बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भयो । खेलको ५५ औं मिनेटमा तेमिलोपे जेनिफरले दोस्रो गोल थपिन् ।

यो भने धेरै हदसम्म उत्कृष्ट रह्यो । विपक्षीका तीन डिफेन्डर र गोलरक्षकलाई पन्छाएर भएको गोल थियो । लगत्तै उनले रोनाल्डो शैलीमा गोलको खुसीयाली पनि मनाइन् । कर्णालीले खेलको अन्तिम आधा घण्टा १० खेलाडीमा सीमित रहेर खेलेको थियो । सिर्जना बाटाला दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न बाध्य रहिन् । संकटाको अब ४ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लिनसफल रह्यो । कर्णाली भने नवौं स्थानमै रह्यो । टोलीको खातामा १ अंकमात्र छ ।

प्रकाशित : भाद्र २७, २०८१ ०६:३४
×