कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आईओसीलाई भारतीय प्रायोजकको अपेक्षा

श्रावण २५, २०८१
आईओसीलाई भारतीय प्रायोजकको अपेक्षा

पेरिस — अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले चाँडै भारतीय प्रायोजक पाउने अपेक्षा गरेको छ । यसले ओलम्पिक वृत्तमा भारतको बढ्दो प्रभावलाई देखाउँछ । आईओसीसँग अहिले माथिल्लो स्तरको १५ प्रायोजक साझेदार छन् । उनीहरूले प्रत्येक वर्ष सामूहिक रूपमा ७४ करोड डलर बराबरको रकम वा सेवा प्रदान गर्ने गर्छन् । यी प्रायोजकमा कुनै भारतीय कम्पनी भने रहेका छैनन् ।

आईओसीको बजार निर्देशक एनी सोफिया भोमार्डले भनेकी छन्, ‘हामी भारतबाट कुनै ठूलो प्रायोजक आएको हेर्न चाहन्छौं । विश्वास छ, यो सकेसम्म चाँडै पूरा हुनेछ ।’ उनले बुधबार आफ्नो प्रायोजकको सम्मानमा आयोजित कार्यक्रममा यस्तो भनेकी हुन् । उनी थप्छिन्, ‘हामीलाई के विश्वास छ भने, भारत सबै प्रकारको सम्भावना भएको देश हो र यसमा व्यावसायिक सम्भावना सबैभन्दा बढी रहेको छ । अहिले भारतको कुल गार्हस्थ्य उत्पादन बढ्दै छ र विकासको दर पनि उच्च छ ।’

गत वर्ष मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईओसीका पदाधिकारीसँगको भेटघाटमा सन् २०३६ को ओलम्पिक आयोजनाका लागि दाबी गर्ने बताएका थिए । मुम्बईमा आयोजित आईओसीको वार्षिक बैठकमा मोदीले सम्बोधन गरेका हुन् । अहिले पेरिस ओलम्पिकमा १ सय ११ सदस्यीय आईओसी सदस्य टोली छ । त्यसमध्ये एक नीता अम्बानी रहेकी छन् । उनी भारतको सबैभन्दा धनी मुकेश अम्बानीका पत्नी हुन् । नीता सन् २०१६ यता आईओसी सदस्यमा छिन् । उनीहरूको रिलायन्स उद्योग समूह छ । गत महिना मात्रै उनीहरूले आफ्ना छोरा अनन्त अम्बानीको भव्य र निकै खर्चालु विवाह गरेका थिए । यो अन्तर्राष्ट्रिय चासो र समाचारको विषयसमेत बनेको थियो ।

नौ महिनाअघि आईओसीको बैठक जुन स्थानमा बैठक बसेको थियो, त्यहीं विवाह समारोह आयोजना गरिएको थियो । त्यसमा केही आईओसीका प्रतिनिधि पनि सहभागी थिए । त्यसमा एक फिफाका अध्यक्ष जियानी इन्फान्टिनो पनि थिए ।

रिलायन्सको च्यारिटी फाउन्डेसनले पेरिसमा भारतीय आतिथ्यता केन्द्र पनि सञ्चालन गरेको छ । अम्बानी दम्पतीले जुलाई २७ मा त्यसको उद्घाटन गरेका थिए । यसले पनि भारतको ओलम्पिक आयोजना गर्ने महत्त्वाकांक्षा प्रस्ट पार्छ । यस वर्षको अन्त्यमा आईओसीको एउटा ठूलो प्रायोजकसँगको अनुबन्ध सकिँदै छ । यस्तै जापानी गाडी निर्माता टोयोटा र अन्य केहीले भने आफ्नो अनुबन्धलाई नवीकरण गर्दै छ ।

ओलम्पिक प्रायोजक प्रायः ४० वर्ष बराबरको हुने गर्छ । यस्तो प्रायोजन गर्ने कम्पनी अमेरिका र जापानका रहेका छन् । जापानका दुई प्रायोजक ब्रिजस्टोन र पानासोनिकको यस वर्षको अन्त्यमा अनुबन्ध सकिँदै छ । भामोर्ड भन्छिन्, ‘समय परिस्थितिअनुसार प्रायोजक आउने र जाने भइरहन्छ । यो व्यवसायको रणनीतिमा पनि भरपर्छ ।’ आईओसीले कतारबाट पनि प्रायोजकको अपेक्षा गरेको छ ।

प्रकाशित : श्रावण २५, २०८१ ०६:०१
×