कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

लोपेजले जिते ओलम्पिकमा लगातार पाँचौँ स्वर्ण

श्रावण २३, २०८१
लोपेजले जिते ओलम्पिकमा लगातार पाँचौँ स्वर्ण

काठमाडौँ — क्युबाली कुस्तीबाज मिजेन लोपेजले मंगलबार पेरिस ओलम्पिकमा ऐतिहासिक सफलता चुमेका हुन् । उनी ओलम्पिक इतिहासमै पहिलो पटक लगातार पाँच संस्करणको एउटै स्पर्धामा स्वर्ण जित्ने पहिलो खेलाडी बनेका छन् ।

यससँगै उनले कार्ल लेविस र माइकल फेल्प्सको नाममा पनि रहेको लगातार चार ओलम्पिक संस्करणको एउटै स्पर्धामा स्वर्ण जितेको प्रदर्शनलाई उछिनेका छन् । अर्को साता ४२ वर्ष पुग्ने लोपेजले ग्रेको रोमन स्पर्धाको १३० केजी फाइनलमा चिलीका यासमनी एकोस्टालाई पराजित गरे ।

एकोस्टा पनि क्युबाली कुस्तीबाज नै हुन् । उनले आफ्नो देशबाट खेल्न नपाएपछि चिलीको प्रतिनिधित्व गरेका थिए । अविश्वसनीय जितपछि लोपेजले यस्तो सफलताको एक मात्र रहस्य कडा मिहिनेत गरेको बताए । उनले भने, ‘यस्तो प्रदर्शनका लागि सबैभन्दा पहिले कसैले पनि आफू खेल्ने खेललाई असाध्यै मन पराउनुपर्छ । त्यसपछि यो खेलको माध्यमबाट आफू को हो भनेर चिनाउनु पर्छ ।’

सन् २०२१ मा टोकियो ओलम्पिकमा स्वर्ण जितेपछि उनले सन्न्यास लिएका थिए । तर उनले फेरि खेल्ने निर्णय गरे र स्वर्ण जिते । यसपल्टको स्वर्णपछि भने उनले अब खेलबाट पूर्णतः सन्न्यास लिएको पनि घोषणा गरे ।

प्रकाशित : श्रावण २३, २०८१ १०:२४
×