कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

आर्मन्डको विश्व कीर्तिमान

श्रावण २३, २०८१
आर्मन्डको विश्व कीर्तिमान

पेरिस — स्विडेनका आर्मन्ड डुप्लान्टिसले आफ्नै नाममा रहेको विश्व कीर्तिमानमा सुधार गर्दै पेरिस ओलम्पिकको पोलभल्टमा सोमबार स्वर्ण पदक जितेका छन् । स्टाडे डे फ्रान्समा भएको प्रतिस्पर्धामा उनले ६.२५ मिटरको दूरी नाघेका थिए ।

उनको प्रदर्शनलाई ६९ हजार दर्शकले प्रत्यक्ष हेरेर प्रशंसा गरे । डुप्लाटिन्सले आफ्नो प्रदर्शनमा एक सेन्टिमिटरको सुधार गरेका हुन् । यसअघि उनले अप्रिलमा भएको डायमन्ड लिग मिटमा ६.२४ मिटरको दूरी नाघेका थिए ।

उनले तीन वर्षअगाडि टोकियो ओलम्पिकमा जितेको स्वर्णको रक्षा पनि गरेका छन् । उनको यो प्रदर्शन भने धेरैका लागि आश्चर्यको विषय रहेको छैन, किनभने विश्व पोल्टभल्टमा पछिल्लो समय उनको एकछत्र प्रभुत्व छ । उनले आफ्नै घर पछाडि प्रशिक्षक पनि रहेका अमेरिकी बुवाबाट पोलभल्टको शिक्षा लिएका थिए । यसपल्टको स्वर्ण भने ठूलो प्रतियोगितामा अपार दर्शकसामु पहिलो हो । जितपछि उनले भने, ‘म निकै भावनात्मक भएँ । आजको प्रदर्शन विशेष रह्यो, किनभने प्रत्येक प्रतिस्पर्धाको आफ्नो अलग महत्त्व हुन्छ ।’

उनले चार वर्षको उमेरबाट नै पोलभल्ट खेल्न सुरु गरेका थिए । उनले थपे, ‘सानो उमेरदेखि नै मैले ओलम्पिकमा स्वर्ण जितेको कल्पना गरेको छु । यस्तै कल्पना पूरा हुँदा खुसी मिल्छ नै । ओलम्पिकमा स्वर्ण जित्नुको अनुभव त अझ विशेष हुने हुन्छ ।’

स्विडेनी खेलाडीले पोलभल्टमा विश्व कीर्तिमान बनाएको यो नवौं अवसर हो । उनी भर्खर २४ वर्षका भए । त्यसैले यो कीर्तिमानमा अझ सुधार हुने विश्वास गरिएको छ । उनको पछाडि रहेका अमेरिकाका साम केनड्रिक्सले रजत पदक जिते । उनले ५.९५ मिटर मात्रै दूरी नाघे । यो डुप्लाटिन्सको भन्दा ३० सेन्टिमिटर कम हो । उनी तीनपल्टका युरोपेली च्याम्पियन पनि हुन् ।

प्रकाशित : श्रावण २३, २०८१ ०७:२९
×