कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

जोकोभिचलाई स्वर्ण

श्रावण २१, २०८१
जोकोभिचलाई स्वर्ण

पेरिस — नोभाक जोकोभिचले रोलान्ड ग्यारोसमा कार्लोस अल्कारेजलाई पराजित गर्दै आइतबार पेरिस ओलम्पिक २०२४ को टेनिस एकलको स्वर्ण पदक जितेका छन् । यससँगै जोकोभिचको ओलम्पिक स्वर्ण जित्ने सपना पूरा भएको छ । यो जितपछि उनले गत विम्बल्डनको फाइनलमा बेहोरेको हारको बदला पनि लिएका छन् ।

कीर्तिमान २४ ग्रान्ड स्लाम विजेता खेलाडी जोकोभिचको सफलता सूचीमा ओलम्पिक स्वर्ण मात्र रहेको थिएन । उनी ओलम्पिक टेनिस इतिहासमा स्वर्ण जित्ने सबैभन्दा पाको उमेरका खेलाडी पनि भएका छन् । जोकोभिचले ३७ वर्षको उमेरमा यो सफलता चुमेका हुन् । तीन साता अगाडि विम्बल्डनमा हार बेहोरेयता यसपल्ट जोकोभिच ७–६ (७/३) र ७–६ (७/२) ले विजयी रहे ।

चारै ग्रान्ड स्लाम प्रतियोगिताका साथै ओलम्पिकको स्वर्ण जित्ने टेनिस खेलाडीको दुर्लभ सूचीमा जोकोभिचले आफ्नो नाम लेखाएका छन् । यसअघि यस्तो सफलता आन्द्र अगासी, राफाल नाडाल, स्टेफी ग्राफ र सेरेना विलियम्सले मात्र पाएका थिए ।

जोकोभिचले दुवै सेट टाइब्रेकरमा जितेर सर्बियालाई भावनात्मक स्वर्ण पदक दिलाए । अल्कारेज भने ओलम्पिकको पुरुष एकल फाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी पनि भएका छन् । उनी २१ वर्षका छन् । उनले विम्बल्डनसँगै पछिल्लो फ्रेन्च ओपन पनि जितेका थिए । यसपल्ट भने उनी स्पेनका लागि रजत पदकमै रोकिए ।


प्रकाशित : श्रावण २१, २०८१ ०६:००
×