कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पेरिस ओलम्पिक : सुस्मिता र डुवाना आफ्नै प्रदर्शन तोड्न असफल

श्रावण १३, २०८१
पेरिस ओलम्पिक : सुस्मिता र डुवाना आफ्नै प्रदर्शन तोड्न असफल

काठमाडौँ — पेरिस ओलम्पिक २०२४ को दोस्रो दिन आइतबारसम्म तीन नेपाली खेलाडीको यात्रा टुंगिएको छ । आइतबार प्रतिस्पर्धा गरेकी सुटिङकी सुस्मिता नेपाल र पौडीकी डुवाना लामा कमजोर प्रदर्शनसहित बाहिरिएका छन् । अघिल्लो दिन टेबलटेनिसका स्यान्टु श्रेष्ठ पराजित हुँदै बाहिरिएका थिए ।

ब्याडमिन्टन प्रिन्स दाहाल पनि शनिबार भएको पहिलो खेलमा डेनमार्कका भिक्टोर एक्सेल्सनसँग सोझो सेटमा पराजित भएका छन् । उनले भने समूह चरणका अरू दुई खेल खेल्न बाँकी छ ।

२४ वर्षीया सुटर सुस्मिताले पेरिस ओलम्पिकमा महिला १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी ४३ प्रतिस्पर्धीमा ४२ औं स्थानमा रहिन् । उनले ६०७.८ स्कोर गरिन् । सुस्मिता आफ्नो व्यक्तिगत प्रदर्शनमा पनि सुधान गर्न असफल भइन् ।

युनिभर्सालिटी कोटाबाट ओलम्पिक खेलेकी सुस्मिताले यसअघि जकार्तामा सम्पन्न एसियन च्याम्पियनसिपको क्वालिफिकेसनमा ६१६.२ स्कोर गरेकी थिइन् । १९ औं एसियाली खेलकुदमा भने उनी ६०७.९ स्कोरसहित ५८ औं स्थान थिइन् ।

पौडीवाज डुवानाले महिला २०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गरेकी थिइन् । उनी समग्रमा पुछारमा रहिन् । उनले २ मिनेट २०.७४ सेकेन्डमा दुरी पार गरिन् । उनी ३० औं स्थानमा रहेकी थिइन् ।

यस इभेन्टमा १ मिनेट ५९.२९ सेकेन्डभन्दा अगाडि दुरी पार गर्ने १६ पौडीवाज सेमिफाइनल चरणमा पुगेका छन् ।

डुवानाले ओलम्पिकमा आफ्नो प्रदर्शन पनि तोड्न सकिनन् । उनको उत्कृष्ट टाइमिङ २ मिनेट १२.४६ सेकेन्डको हो, जुन उनले गत वर्ष जापानको फुकुओवामा बनाएकी थिइन् । गत फेब्रुअरीमा वर्ल्ड एक्वाटिक च्याम्पियनसिपमा आफैले बनाएको २ मिनेट १४.५० सेकेन्डलाई पनि डुवानाले उछिन्न सकिनन् ।

गौरिका सिंहको नाममा रहेको २ मिनेट ११.९४ सेकेन्ड राष्ट्रिय कीर्तिमानभन्दा डुवाना टाढै रहिन् ।

जारी ओलम्पिकमा अब नेपालका चार खेलाडीको प्रतिस्पर्धा बाँकी छ ।

प्रकाशित : श्रावण १३, २०८१ १८:०६
×