कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा

आश्विन ३, २०८१
जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा

जुम्ला — जुम्लाका तीन स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा, सिंजा र चन्दननाथ नगरपालिका साक्षर पालिकाका रुपमा घोषणा भएका हुन् । साक्षर घोषणा गर्न तोकिएका सूचकहरु पूरा भएपछि साक्षर पालिका घोषणा गरिएको हो ।

हिमा गाउॅपालिकामा ९६ प्रतिशत, सिंजामा ९६.५ र चन्दननाथ नगरपालिकाका ९८.९१ प्रतिशत नागरिक साक्षर रहेको तथ्यांक छ ।

चन्दननाथ नगरपालिकालाई कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले साक्षर नगर घोषणा गरे । हिमालाई जिल्ला समन्वय समितिका प्रमुख जलस्रोत तथा उर्जा विकासमन्त्री बिजया बुढा र सिंजालाई अध्यक्ष पूर्णप्रसाद धितालले साक्षर घोषणा गरेका हुन् ।

तोकिएका १२ सूचकहरुमध्ये ५० प्रतिशत सूचक पूरा भए साक्षर पालिका घोषणा गर्न मिल्ने प्रावधानअनुसार धमाधम स्थानीय तह साक्षर घोषणा भइरहेका छन् । चन्दनाथ नगरपालिका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईॅले कुल २१ हजार ३६ जनसंख्या रहेको नगरपालिकामा ९८ प्रतिशत नागरिक साक्षर रहेको बताए । उनका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने ३ सय ८० जनामात्रै भेटिएका थिए । उनीहरुलाई साक्षर बनाएसँगै पालिका साक्षर घोषणायोग्य मानिएको हो ।


सिंजाले कुल जनसंख्याको ९६ प्रतिशत नागरिक साक्षर भइसकेको देखाएको छ । शिक्षा शाखा प्रमुख शंकर धितालले जनगणनाअनुसार साक्षरता दर ६८ प्रतिशत भए पनि वडागत रुपमा संकलन गरिएको तथ्यांकले साक्षर पालिका घोषणायोग्य देखिएपछि पालिका नै साक्षर घोषणा गर्न संभव भएको बताए ।

हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावनाहरु व्यक्त गर्न सक्ने जस्ता सूचकहरु पूरा भएपछि पालिका साक्षर घोषणा गरिएको अध्यक्ष पूर्णप्रसाद धितालले जनाएका छन् । हिमाको कुल जनसंख्या १२ हजार ८ सय रहेकोमा १२ हजार २ सय ५६ जना साक्षर छन् । गाउॅपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले शिक्षक, सामाजिक परिचालक र कर्मचारीहरु साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउॅबस्तीमै पुगेका थिए ।


अब पाँच स्थानीय तहले पनि साक्षर पालिका घोषणा गर्न वडास्तरमा कर्मचारीहरु परिचालन गरेर तथ्यांक संकलन गरिरहेका छन् । शिक्षक, अभिभावक, स्थानीय नागरिक र जनप्रतिनिधिहरुसँग घनिभूत छलफल गरिरहेको तिला गाउॅपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले जानकारी दिए ।

प्रकाशित : आश्विन ३, २०८१ १६:३३
×