कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

दीक्षान्त रोकिएपछि निराश भएर फर्किंदै विद्यार्थी

दीक्षान्त रोकिएपछि निराश भएर फर्किंदै विद्यार्थी

Highlights

  • ओलीले पारे बिचल्ली : ज्ञानेन्द्र शाही, प्रतिनिधिसभा सदस्य

जुम्ला — कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको प्रथम दीक्षान्त समारोह स्थगित भएपछि दीक्षित हुन यहाँ आएका विद्यार्थीहरू निराश भएर घर फर्किन थालेका छन् ।  विद्यार्थी मात्र होइन, कार्यक्रममा सहभागी हुन आएका पाहुनाहरूले समेत कार्यक्रम स्थगित भएको सूचना समयमै नपाउँदा आक्रोश पोखेका छन्  ।

प्रतिष्ठानका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति स्वास्थ्यमन्त्री प्रदीप पौडेल, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल लगायतको टोली जुम्ला आउने कार्यक्रम थियो । मध्यरातमा कार्यक्रम स्थगित भएको मौखिक खबर प्राप्त भएको भन्दै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले सूचना प्रकाशित गरेको थियो । आइतबार हुने कार्यक्रम स्थगित भएपछि विद्यार्थीसहित आएका पाहुनाहरू धमाधम घर फर्किन लागेका हुन् ।

प्रधानमन्त्री ओलीले मध्यराति मौखिक रूपमा कार्यक्रममा सहभागि हुन नसक्ने जानकारी गराएसँगै दीक्षान्त समारोह स्थगित भएको उपकुलपति डा. मंगल रावलले बताए । प्रधानमन्त्री ओलीले विशेष कारण उपस्थित हुन नसक्ने जनाउॅदै आगामी कात्तिक २८ मा अर्को मिति तय गरेको उनले बताए । ‘अहिलेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट दीक्षान्त समारोह स्थगित भएको बारेमा कुनै लिखित सूचना आइपुगेको छैन,’ उपकुलपति डा. रावलले भने ।

प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले दीक्षान्त मिति तोकेर करोडौं खर्च गराएर एक्कासि कार्यक्रम स्थगित गर्न नमिल्ने बताए । ‘कार्यक्रम व्यस्तता थियो भने आयोजना गर्न किन लगाइयो ? यत्तिका मान्छे भेला गर्न लगाएर प्रधानमन्त्री ओलीले बिचल्ली पारे । यति ठूलो समारोह गर्न करोडौंको खर्च भयो होला, यो खर्च अब कसले व्यहोर्ने ?’ उनले भने, ‘हचुवाका भरमा कार्यक्रम आयोजना गर्ने यो निकै गैरजिम्मेवारपन हो ।’

दीक्षित हुन सुर्खेतबाट जुम्ला आइपुगेका सुशील शाहीले कार्यक्रम स्थगित भएपछि निराश भएर घर फर्किन लागेको बताए । प्रधानमन्त्रीबाट दीक्षित हुने भन्दै खुसीका साथ जुम्ला आइपुगेका उनले उत्साह बोकेर आए पनि निराश भएर फर्किनु परेको सुनाए । ‘पहिलोपटक दीक्षान्त समारोहमा भाग लिने अवसर प्राप्त भएको थियो, वर्षौंदेखि देखेको सपना पनि पूरा भएन, अब यो अवसर कहिले प्राफ्त हुन्छ थाहा छैन,’ दीक्षित हुन यहाँ आएका सुशीलले भने, ‘उत्तीर्ण हुने बित्तिकै दीक्षित हुने अवसर मिलेको थियो । त्यो पनि बिना जानकारी गुम्यो ।’ उनले स्थगित हुने जानकारी समयमै भएको भए वर्षातको समयमा जोखिम मोलेर जुम्ला पुग्नुपर्ने अवस्था नआउने बताउँछन् ।

दीक्षित हुन पुगेका दीपेन्द्र जैसीले दीक्षित हुन तयार भएर बसेपछि स्थगित भएको खबरले दुःखी भएको बताए । ‘प्रतिष्ठानमा भएको शान्त माहोल देख्दा बोल्ने शब्द नै छैन,’ उनले भने, ‘दीक्षित भएर जाने सपना सपनै रह्यो ।’ शाही र जैसीजस्तै डोटी, अछामलगायत कर्णाली प्रदेशबाहिरका विद्यार्थीहरू पनि उपस्थित रहेका थिए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि हुन लागेको पहिलो दीक्षान्त समारोहले निकै उत्साहित बनाएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको सुन्दा दुःख लागेको प्रतिक्रिया दिए । उनले दीक्षान्त समारोह के कारणले रोकियो भन्ने कसैलाई थाहा नभएको समेत बताए ।

कार्यक्रममा सहभागी हुन प्रतिनिधिसभा सदस्य कान्तिका सेजुवाल र ज्ञानेन्द्र शाही, स्वास्थ्य सचिव डा. रोशन पोखरेल, डा. आरपी बिछा, नेत्र विशेषज्ञ डा. सुन्दुक रुइत लगायत सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरू जुम्ला आएका थिए । प्रतिष्ठानमा स्नातक र स्नातकोत्तर तहका गरी ५६ जना विद्यार्थी दीक्षित हुने कार्यक्रम थियो ।

प्रकाशित : भाद्र २३, २०८१ १३:४४
×