कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६५

१३२ उपसचिव भर्ना गर्दै लुम्बिनी सरकार

भाद्र ३१, २०८१
१३२ उपसचिव भर्ना गर्दै लुम्बिनी सरकार

बुटवल — लुम्बिनी प्रदेश सरकारले उपसचिव (नवौं तह) स्तरका १ सय ३२ कर्मचारी भर्नाका लागि प्रक्रिया सुरु गरेको छ । प्रदेश सरकारले यसअघि पाँचौं र छैटौं तहका प्राविधिकतर्फका मात्र कर्मचारी पदपूर्ति गर्दै आएकामा आन्तरिक बढुवा र खुला प्रतिस्पर्धाबाट नवौं तहका कर्मचारी भर्ना गर्न लागेको हो । 

सरकारले पहिलो चरणमा माग गरेका नवौं तहका कर्मचारीमा प्रदेश प्रशासन र सामान्य प्रशासनतर्फ डिभिजन वन अधिकृत, वन उपनिर्देशक, डिभिजन इन्जिनियर, कृषि प्रसार अधिृकत, माटो विज्ञ, कृषि विज्ञ, अस्पतालहरूका लागि मेडिकल सुपरिन्टेन्डेन्ट, विशेषज्ञ सेवाका डाक्टरदेखि जनस्वास्थ्य निरीक्षक र स्वास्थ्य शिक्षा प्रशासकसम्मका छन् ।

लोक सेवा आयोगले प्रशासन र प्राविधिकतर्फका कर्मचारी पदपूर्तिका लागि २१ दिनभित्र निवेदन दिने गरी शुक्रबार सूचना प्रकाशित गरेको हो । ‘प्रशासनतर्फ १८ र प्राविधिकतर्फ १ सय १४ जना कर्मचारी नवौं तहका मात्र भर्ना गर्ने गरी माग गरेका छौं,’ लोक सेवा आयोगको कार्यालय बुटवलका उपसचिव एवं प्रवक्ता यमकान्त पाण्डेले भने, ‘प्राविधिक पदतर्फ स्वास्थ्य सेवा र वन सेवाका बढी छन् ।’

सरकारले प्राविधिकतर्फ स्वास्थ्य सेवा, वन, कृषि, इन्जिनियरिङ र शिक्षा सेवातर्फ बढी कर्मचारी माग गरेको उनले बताए । प्रदेश लोक सेवा आयोग कार्यालयका वरिष्ठ अधिकृत केशव सुनारका अनुसार सरकारले माग गरेको नवौं तहका १ सय ३२ जनामध्ये स्वास्थ्य सेवाका मात्र ७४ जना छन् । इन्जिनियरिङतर्फ १७, कृषि सेवातर्फ ११, वन सेवामा ६ र शिक्षा सेवामा ६ जना छन् ।

माग गरिएको संख्यामध्ये ज्येष्ठता तथा कार्य सम्पादनबाट २४ र कार्यक्षमता मूल्यांकनबाट ५३ जनाको बढुवा हुनेछ । अन्तर तहबाट ९ जना र खुला तथा समावेशीबाट ४६ जना नयाँ कर्मचारी भर्ना हुने सुनारले बताए । लुम्बिनीमा ४ हजार ७८ कर्मचारीको दरबन्दी स्वीकृत भए पनि अहिले १ हजार ९ सय ९२ कर्मचारी मात्र कार्यरत छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ ०५:५३
x
×