कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

लुम्बिनीको निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभामा पेस

भाद्र ३०, २०८१
लुम्बिनीको निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभामा पेस

Highlights

  • दफावार छलफलका लागि विषयगत समितिमा पठाइयो

बुटवल — लुम्बिनी प्रदेशको निजामती सेवा ऐन संशोधनका लागि प्रदेश सभाको विषयगत समितिमा छलफल हुने भएको छ । आइतबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ३३ औं बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा संशोधन विधेयकमाथि दफावार छलफलका लागि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्ताव गरेका थिए । सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेको विधेयकलाई प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

स्रोतका अनुसार सोमबार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा छलफलका लागि पेस गर्ने तयारी छ । प्रदेश सभाबाट ऐन बनेको ठिक एक वर्षपछि सरकारले त्यसलाई संशोधन गर्ने तयारी गरेको हो । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय लुम्बिनी मन्त्रिपरिषद‌्को गत सोमबारको बैठकले पारित गरेको थियो ।

२०८० असार २२ गते सरकारले निजामती विधेयक पेस गरेको थियो । विषयगत समितिको छलफल र सरोकारवालाको सुझावसहितको प्रतिवेदनलाई प्रदेश सभाले २०८० भदौ २२ गते पारित गरेको थियो । प्रदेश सभाबाट पारित भएको तीन महिनापछि प्रदेश प्रमुख अमिक शेरचनले मंसिर २१ गते प्रमाणीकरण गरेका थिए । सरकारले सरोकारवालाको सुझावसहित विधेयक पारित गरे पनि त्यसमा उल्लेखित केही दफा र उपदफाको विषयमा कर्मचारी संघ, संगठन र समूहहरूले विरोध गर्दै आएका थिए ।

सोमबारको प्रदेश सभाको बैठकको विशेष समयमा प्रदेश सभा सदस्यहरूले प्रदेश सरकारले अघि सारेको ५ लाख भन्दा माथिका आयोजनाहरू ठेक्का प्रक्रियाबाट मात्र निर्माण गर्ने निर्णय अपरिपक्व भएको भन्दै निर्णय सच्याउन आग्रह गरेका थिए । त्यस्तै विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रदेश सभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:३४
×