कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जगदीशपुरमा रमाइरहेका फ्यालफ्याले

भाद्र २९, २०८१
जगदीशपुरमा रमाइरहेका फ्यालफ्याले

Highlights

  • ओथारो बस्दै, बचेरा कोरल्दै

कपिलवस्तु — सामुद्रिक चरा ठिमाहा फ्यालफ्याले कपिलवस्तुकाे जगदीशपुर तालमा रमाउन थालेका छन् । जगदीशपुर पन्छी आरक्षको मध्यभागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका केही स्थानमा अहिले ठिमाहा फ्यालफ्यालेका बचेरा हुर्किंदै गरेको भेटिएका हुन् ।

‘डुंगामा जाँदै गर्दा ठिमाहा फ्यालफ्यालेले टाउकोमा ठुङ्ला जस्तो गर्‍यो,’ जनकपुरका डा. एसके सिंहले भने, ‘सतर्कता अपनाउँदै अघि हेर्दा दुईवटा गुँडमा बचेरा हुर्काइरहेको देखें ।’ परबाटै एउटामा ३ र अर्कोमा २ वटा बचेराका तस्बिर खिचेर फर्केको पनि उनले बताए । त्यहाँ ६०/७० वटा ठिमाहा फ्यालफ्याले उडेको र बसेको देखेको उनीसँगै गएका नेचर गाइड अनिल चौधरीले सुनाए । त्यहाँ कम्तीमा पनि १५/२० वटा गुँड रहेको उनले बताए ।

युरोप, एसिया, अफ्रिका र अस्ट्रेलियाका समुद्र, नदी र सीमसार क्षेत्रमा पाइने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा कोरलेको रेकर्ड भएको वरिष्ठ चराविद् हेमसागर बरालले बताए । ‘मुलुकका लागि राम्रो हो, यसले पर्यापर्यटनप्रति आकर्षण थपेको छ,’ उनले भने । गत वर्ष भदौ दोस्रो साता जगदीशपुरमा वाइल्ड लाइफ फोटोग्राफर सुगम ताम्राकार र फ्रेन्च पेम्बा शेर्पा तथा कोशी पुल छेउमा निशान बरालले ठिमाहा फ्यालफ्यालेलेको गुँड फेला पारेका थिए । तर, ठिमाहा फ्यालफ्याले ओथारो बसेको समाचार बाहिरिएपछि जगदीशपुरमा फोटो खिच्नेको भीड बढेपछि चरा ओथारो छाडेर भागेका थिए । कोशीमा भने बरालले नेस्टिङ फलोअप गर्न पाएनन् ।

जगदीशपुरमा सामुद्रिक चराले बच्चा कोरलेको एउटा आकर्षण थपिंदा खुसी लागेको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष दीपकबहादुर गुरुङले बताए । यस वर्ष भने सामुद्रिक चराले राम्ररी बचेरा हुर्काओस् भनेर तालभित्र जान कडाइ गरिएको उनले बताए ।

‘जल अप्सराको तस्बिर खिच्न आएको थिएँ,’ डा. सिंहले भने, ‘ठिमाहा फ्यालफ्यालेको बचेराका तस्बिर खिचेर रेकर्ड बन्दा खुसी छु ।’ पेसाले चिकित्सक रहेका उनी वाइल्ड लाइफ फोटोग्राफीमा रुचिले लागेको बताउँछन् ।

अनियमित हिउँदे आगन्तुक तथा वसन्त ऋतुमा बटुवा प्रजातिका रूपमा यो चरा आउने गर्छ । नेपालमा कहाँबाट यो चरा आउँछ भन्ने अनुसन्धान नभए पनि अरेबिन सी आसपासबाट आउने अनुमान गर्न सकिने चराविद्हरू बताउँछन् । निकै चञ्चले यो चराको नेस्टिङका बेलाबाहेक अन्य समयमा तस्बिर खिच्न गाह्रो हुन्छ । यसले पानीमा पातमाथि झारपात र झिंजाझिंझी राखेर ओथारो बस्छ । फ्यालफ्यालेका ८ प्रजातिमध्ये यसले किरा फट्यांग्रा खान्छ । बच्चा कोरल्ने समयमा प्वाँखावस्थामा सेता गाला, कालो टाउको र फुस्रो तल्लो भागसँग प्रस्ट फरक देखिन्छ ।तस्बिर सौजन्य : डा. एसके सिंह

सन् १९८२ मा कोशी ब्यारेजमा ४ सय बढीको संख्यामा यी चरा देखिएको थियो । ४१ वर्षपछि गत वर्ष करिब एक सयको संख्यामा यो चरा पहिलो पटक जगदीशपुरमा देखिएको चराविद् हठन चौधरीले बताए । समुद्रमा जलवायु परिवर्तनको असरले तापक्रम वृद्धि हुँदा यता यस्ता तालतलैया र सीमसार क्षेत्रमा बचेरा हुर्काउन रोजेको हुन सक्ने उनले बताए । जगदीशपुर ताल पन्छी आरक्ष भएपछि यसको जैविक विविधता संरक्षण भएको हुँदा नयाँ चराले गुँड लगाउने र ओथारो बसेर बचेरा हुर्काउने रोजाइमा परेको चराविद् कृष्णप्रसाद भुसालले बताए । साउनमा आथारो बस्ने यो चराले तीन सातामा बच्चा कोरल्ने र दुई/तीन महिनामा हुर्काएर लिएर जान्छ ।

यो तालले नेपालमा सबैभन्दा बढी पानी चरालाई आश्रय दिँदै आएको छ । आईयूसीएन नेपालले गरेको एक अध्ययनले यस क्षेत्रमा ४३ प्रजातिका माछा, १० प्रजातिका उभयचर, ४२ प्रजातिका सरीसृप र ३२ प्रजातिका स्तनधारी जनावर पाइने देखाएको छ । त्यस्तै ताल क्षेत्रमा १ सय ६७ प्रजातिका चरा पाइने जनाएको छ । त्यसमध्ये ९२ प्रजातिका रैथाने, ९ प्रजातिका गर्मी याममा आउने, ६४ प्रजातिका चराहरू जाडो याममा आउने र ३ प्रजातिका चराहरू आंशिक प्रवासी रहेको अध्ययनले देखाएको छ । यहाँ विश्वमै दुर्लभजन्य जन्तु पानी बिरालो र ८ प्रजातिका चरा पनि पाइन्छन् ।

प्रकाशित : भाद्र २९, २०८१ १८:५१
×