कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

हरेक क्षेत्रको तथ्यांकका आधारमा मूल्यांकन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

भाद्र १२, २०८१
हरेक क्षेत्रको तथ्यांकका आधारमा मूल्यांकन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य

देउखुरी — लुम्बिनी प्रदेश सरकारले अब सबै कामलाई तथ्यांककाे आधारमा मुल्यांकन गर्ने भएको छ । प्रदेश याेजना आयोगले बुधबार गरेको कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशका हरेक कामलाई तथ्यांकको आधारमा मुल्यांकन गरिने बताए ।

प्रदेश सरकार र मातहतका कार्यालयले सम्पादन गरेका कामलाई तथ्यांकको आधारमा वस्तुगत मूल्यांकन गरेर अघि बढ्नुपर्ने, तथ्यांकलाई मूल्यांकनको आधार बनाउँदा बावस्तविकता पत्ता लगाउन सकिने उनलेे बताए ।

प्रदेश योजना आयोगको आयोजनामा बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भएको लुम्बिनी डाटा पोर्टल सार्वजनिकरण कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले आर्थिक, सामाजिक, भौतिक लगायत सबै क्षेत्रका तथ्यांकलाई यथार्थपरक बनाउनुपर्ने बताए ।

‘डाटा पोर्टल बन्नु महत्वपूर्ण उपलब्धि हो । यसलाई सबै निकायले प्रयोग गर्न मिल्ने बनाउनुपछ,' उनलेे भने, 'हरेक कामको मूल्यांकन तथ्यांकको आधारमा हुनुपर्छ ।' लुम्बिनी प्रदेशको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, भौतिक, पूर्वाधार लगायत सबै बिषय र पक्षका तथ्यांकलाई एकीकृत गरेर एकै ठाउँमा तथ्यांक राखिएको छ ।

विगतमा तथ्यांक खोज्न र प्रयोग गर्न समस्या थियो । तर, अबदेखि प्रदेशसँग सम्बन्धित सबै तथ्यांकहरु डाटा पोर्टलमा राखिएको र त्यहाँ रहेका तथ्यांक प्रयोग गर्न सकिने अवस्था रहेको प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवरले बताए ।

लुम्बिनी प्रदेशको समस्थिगत स्थिति समेटिएको छ । एकीकृत रुपमा विवरण राखिएकाले यसको उपयोगिता बढेर गएको सचिव कुँवरको भनाइ छ । यो पोर्टलमा प्रदेश सरकरका विषयगत मन्त्रालयहरुले तयार पारेका आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ्य, भौतिक पूर्वाधार, सहरी विकास, वन तथा वातावरण लगायत सबै क्षेत्रका तथ्यांकलाई एकीकृत गरिएको छ ।

यसका साथै स्वतन्त्र अनुसन्धानकर्ताहरुले तयार पारेका तथ्यांकलाई समेत समेटिएको छ । लुम्बिनी प्रदेशको समग्र विकासमा एकीकृत तथ्यांकले टेवा पुग्ने नेपाल ईन डाटा कार्यालयका प्रमुख तथ्यांक अधिकृत सन्तोष गरतौलाले बताए डाटा पोर्टललाई तथ्यांक बैंकको रुपमा प्रयोग गर्न सकिने उनलेे बताए ।

संघ, प्रदेश, जिल्ला र पालिका सम्मका तथ्यांकहरु समावेश गरिएको छ । लुम्बिनी प्रदेश सरकारले दोस्रो आवधिक योजना निर्माण गरिरहेको छ । पहिलो आवधिक योजना निर्माण गर्दा तथ्यांकको अभाव भएपनि अव बनाउने आवधिक योजनाहरुमा डाटा पोर्टलमा रहेका तथ्यांकले सहयोग पुग्ने विश्वास गरिएको छ ।

पालिका तथा मन्त्रालयहरुको विचमा एउटै सूचकमा रहेका तथ्यांकबीच तुलना गर्न सकिने समेत व्यवस्था गरिएको छ । यूकेएडको सहयोगमा सञ्चालित द एसिया फाउन्डेसनको विकासका लागि तथ्यांक कार्यक्रमको सहजीकरणमा प्रदेश योजना आयोगले डाटा पोर्टल निर्माण गरेको हो ।

प्रकाशित : भाद्र १२, २०८१ १६:३१
x
×