कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

राष्ट्रपति पौडेलद्वारा पाल्पाको भगवती मन्दिरमा पूजा र रथयात्रा अवलोकन

भाद्र ११, २०८१
राष्ट्रपति पौडेलद्वारा पाल्पाको भगवती मन्दिरमा पूजा र रथयात्रा अवलोकन

पाल्पा — राष्ट्रपति रामचन्द्र पौडेलले पाल्पाको तानसेन नगरपालिका–३, भगवतीटोलस्थित भगवती मन्दिरमा मंगलबार दर्शन गरी पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट पाल्पाको तानसेनमा मनाइने भगवती रथयात्रा (खटयात्रा) दर्शनका साथै भगवती मन्दिर पुगेर भगवतीको पूजाआराधना गरी मूल पूजारीबाट फूल प्रसाद टीका ग्रहण गरेका हुन् ।

यसअघि भगवती मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ति, पाल्पाबाट निर्वाचित संघीय सांसद ठाकुर गैरे, नारायण आचार्य तथा लुम्बिनी प्रदेशसभाका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेम सारु, प्रदेशसभा सदस्य बीरबहादुर राना, जिल्ला समन्वय प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्दप्रसाद काफ्ले, तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठलगायतले स्वागत गरेका थिए ।

मन्दिर दर्शन गरी प्रसाद ग्रहणपछि राष्ट्रपति पौडेलले भगवती रथयात्राको पाल्पा उद्योग वाणिज्य संघको छतबाट अवलोकन गरे । राष्ट्रपति पौडेलसँगै आएका रक्षामन्त्री मानबीर राई, पर्यटनमन्त्री बद्री पाण्डे लगायतले जात्राको अवलोकनका साथै भगवती मन्दिरमा पूजा गरेका थिए ।

भगवती जात्राको अवसरमा राष्ट्रप्रमुखद्वारा पहिलो पटक अवलोकन गराइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले जानकारी दिए । उनले हरेक वर्ष भगवती रथयात्राका समयमा मन्दिरमा दर्शन गरी पूजाआजा गर्ने परम्परा बसाल्न आग्रह गरिएको समेत बताए ।

। नेपाल–अंग्रेज युद्धमा नुवाकोट जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेको खुसीयालीमा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा भगवती जात्रा निकालिँदै आएको छ । तत्कालीन पाल्पाका तैनाथवाला कर्णेल उजीरसिंह थापाले ब्रिटिस साम्राज्यको आक्रमणबाट नुवाकोट जीतगढीमा जोगाएको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीमा रथयात्रा निकालिँदै आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष महर्जनले बताए ।

तत्कालीन कर्णेल थापाले युद्धमा जानुअघि भगवतीको आराधना र भाकल गरी विजय प्राप्त गरेको विश्वास स्वरूप त्यसैको खुसीयालीमा भगवतीको रथयात्रा विक्रम सम्वत् १८७७ देखि बजार परिक्रमा गराउन सुरु गरिएको हो । युद्धमा विजयी पश्चात् विसं १८७२ मा निर्माण थालनी गरी विसं १८७६ मा तीन तले मन्दिर पूरा गरेको इतिहासमा उल्लेख छ । कर्णेल उजीरसिंह थापा नेतृत्वको फौजले विसं १८७२ वैशाख ७ गते जीतगढीमा अंग्रेज सेनालाई पराजित गरेको इतिहासविद्ले उल्लेख गरेका छन् ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस सल्लाहाकार किरण पोखरेलले पत्रकारहरूसँग कुरा गर्दै खटयात्राको अवसरमा सबै नेपालीको सुख, शान्ति र कल्याणका लागि शुभकामना दिएको जानकारी गराए ।

राष्ट्रपति पौडेलले रणउजेश्वरी भगवतीको मन्दिर पुरानै शैलीमा तीन तले बनाउन पुरातात्विक विभागले गरेको सिफारिस कार्यान्वयन गर्न सम्बद्ध निकायको ध्यानाकर्षण गराएकोसमेत जानकारी दिए ।

पाल्पा दरबार र त्याहाँ निर्मित संग्रहालयसहित समग्र दरवार परिसरलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र त्यसलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्ने चाहना र प्रयासलाई मूर्त रूप दिन सरकारको ध्यानाकर्षण गराएकासमेत जानकारी दिए । राष्ट्रपति पौडेलले रथ यात्रालाई अब प्रदेस स्तरीयबाट राष्ट्रिय पर्वका रूपमा घोषणा गर्ने सरकारी तयारी चाँडै पुरा हुने विश्वास व्यक्त गरेको प्रेस सल्लाहकार पोखरेलले पत्रकारलाई जानकारी दिए ।

प्रकाशित : भाद्र ११, २०८१ १६:४०
x
×