कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

भूकम्पप्रतिरोधी घर बनाउन ७ दिने तालिम

भाद्र १०, २०८१
भूकम्पप्रतिरोधी घर बनाउन ७ दिने तालिम

रुकुम पश्चिम — रुकुम पश्चिममा भूकम्पप्रतिरोधी घर निर्माणका लागि डकर्मीलाई तालिम दिन थालिएको छ । आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)को आर्थिक सहयोगमा सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा जिल्ला सदरमुकाम खलंगामा सोमबारदेखि ७ दिने तालिमको आयोजना गरिएको हो ।

जिल्लाका ६ वटै पालिकाबाट ५/५ जना गरेर २ जना महिलासहित ३० जना डकर्मीलाई तालिम दिन सुरु गरिएको विभागका इन्जिनियर देवेन्द्रदेव खनालले बताए । ‘विशेषगरी गत कात्तिक १७ गतेको भूकम्पले क्षतिग्रस्त भएका ठाउँमा र अन्य स्थानमा पनि भूकम्पप्रतिरोधी घरको जरुरी छ,’ उनले भने, ‘यसकारण सुरक्षित आवास निर्माणका लागि स्थानीय डकर्मीलाई यससम्बन्धी तालिम दिन लागेका हौं ।’

यसअघि पनि गाउँमा घर निर्माणको काम गरिरहेका डकर्मीलाई सम्बन्धित पालिकाको सिफरिसका आधारमा सहभागी गराइएको अर्का इन्जिनियर तथा प्रशिक्षक माधव कटुवालले जानकारी दिए । भूकम्पपछि सरकारी निकायबाट यसप्रकारको भवन बनाउने तालिमको आयोजना गरिएको यो पहिलोपल्ट भएको इन्जिनियर कटुवालको भनाइ छ । ‘यहाँबाट तालिम लिएपछि उहाँहरूको नामको रोस्टर पालिकाले तयार गर्छ र उहाँहरूलाई नै परिचालन गरेर भवन निर्माणको काम अघि बढ्छ,’ उनले भने ।

आफूहरूले गाउँमा सामान्य तरिकाले काम गरिरहेको भए पनि यसप्रकारको तालिम लिन पाएकामा आठविसकोट नगरपालिका–९ का तिलक देवकोटाले खुसी व्यक्त गरे । यहाँबाट गएपछि कम लागतमा कसरी सुरक्षित र बलियो घर बनाउने भनेर व्यावहारिक रूपमा लाग्ने उनको भनाइ छ ।

प्रकाशित : भाद्र १०, २०८१ १९:२१
x
×