रुकुम पूर्व — मध्यपहाडी राजमार्गको रुकुम पूर्वस्थित रानीकोटमा पहिरो झर्दा आवागमन अवरुद्ध भएको छ । सिस्ने गाउँपालिका–६ मा पर्ने निर्माणाधीन रानीकोट–खोपिचार सडक खण्डमा गएराति पहिरो झरेपछि सवारी साधन रोकिएका छन् ।
रुकुम पश्चिमबाट रुकुमपूर्व, बागलुङ, पोखरा अनि काठमाडौंतर्फ रुकुम पूर्वबाट पश्चिम, दाङ, नेपालगञ्ज, सुर्खेतआदि स्थानतर्फको आवतजावत ठप्प भएको छ ।
बिजुलीका तार–पोलसमेत पहिरोमा परेका कारण पश्चिमतर्फबाट आएको राष्ट्रिय प्रसारण लाइनमा समेत असर पर्दा जिल्लाको विद्युत् पनि हिजो रातिदेखि अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए ।
प्रजिअ शर्माले भने, ‘बाटो खोल्नका लागि बिहानैदेखि डोजरले काम गरिरहेको छ । थप पहिरो झरेन भने अपराह्नसम्म बाटो सञ्चालन हुनसक्छ ।’