कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

४ महिनामा ५ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

असार ३१, २०८१
४ महिनामा ५ करोड रुपैयाँ बराबरको भन्सार छलीका सामान बरामद

भैरहवा — रुपन्देहीस्थित सशस्त्र प्रहरी बल, २७ नम्बर गण हेडक्वार्टरले चार महिना अवधिमा ५ करोड मूल्यका भन्सार छलेर भित्र्याइएका विभिन्न सामान बरामद गरेको छ ।

भारतबाट भन्सार छलेर मुलुक भित्र्याउने क्रममा बरामद गरिएका यस्ता सामाग्री आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय दाखिला गरिएको गणले जनाएको छ । यसरी बरामद मध्ये घरेलु र व्यवसायिक प्रायोजनका सामाग्रीसँगै ठूलो परिमाणमा लागू औषध गाँजा रहेको छ ।

सशस्त्र प्रहरीले दुई महिनाअघि नाकाबाट भारत लैजान लागिएको २ सय ८७ दशमलव ४६ किलो गाँजा बरामद गरेको थियो । विभिन्न स्थानमा ट्रक परिवर्तन गर्दै नाका कटाउने तयारी गरिएका बेला सशस्त्रले जिल्लाको सिद्धार्थनगर नगरपालिका र रोहिणी गाउँपालिकाको सिमानाबाट उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापा मगरले जानकारी दिए । गाँजा ओसारपसारमा संलग्न एक भारतीय नागरिक समेत पक्राउ गरिएको थापाले बताए ।

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जोखिममा परेका १८ महिलाको उद्धार गरिएको जनाएको छ । विभिन्न प्रयोजनकालागि भारत लैजान लागिएका ती महिलाको उद्धारपछि बेचबिखनविरुद्ध क्रियाशील संस्थाको जिम्मा लगाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । ‘आगलागी नियन्त्रणका लागि गण मातहतका युनिटबाट माइकिङ, चेतनामूलक कक्षा सञ्चालन गरिएको छ,’उनले भने, ‘आगलागी भएका स्थानमा सशस्त्र प्रहरी परिचालन गरेर नियन्त्रण गरेका छौं ।’

यसबाहेक विपद्का बेला बाढी तथा डुबानमा परेका व्यक्तिको उद्धार तथा बेपत्ताको खोजीमा सक्रिय रहेको उनले बताए । सीमापार अपराध नियन्त्रणका लागि भारतीय समकक्षीसित नियमित समन्वय र संयुक्त गस्ती गर्ने गरिएको बताए । सशस्त्रले प्रत्येक महिना सीमा केन्द्रित ७ दिने पैदल गस्ती गर्दै आएको थापाले बताए ।

‘शान्ति सुरक्षा स्थापनाकालागि स्थानीय प्रशासन र अन्य सुरक्षा निकायसित समन्वयमा काम गरिरहेका छौं,’उनले भने, ‘तस्करी नियन्त्रणमा विशेष ध्यान दिएका छौं ।’

प्रकाशित : असार ३१, २०८१ १०:३०
x
×