कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लमजुङमा संविधान सभा सदस्यहरूलाई सम्मान

आश्विन ३, २०८१
लमजुङमा संविधान सभा सदस्यहरूलाई सम्मान

लमजुङ — संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ जिल्लास्तरीय आयोजक समिति लमजुङले संविधान सभा सदस्यहरूलाई सम्मान गरेको छ ।

बेंसीसहरमा बिहीबार आयोजित प्रभातफेरीपछिको औपचारिक कार्यक्रममा पहिलो संविधान सभा र दोस्रो संविधान सभाबाट निर्वाचित संविधान सभा सदस्य तथा समानुपातिकतर्फका संविधान सभा सदस्यलाई सम्मान गरिएको हो ।

संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै आयोजक समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङलगायतले टीका लगाएर दोसल्ला ओढाउनुका साथै सम्मानपत्र प्रदान गरेका थिए ।

संविधान सभा सदस्य एवं पूर्वसांसद जमिन्द्रमान घलेले संघीय लोकतान्त्रिक गणतन्त्रपछि प्राप्त संघीयतालाई कार्यान्वयन गर्नेतर्फ सबै दत्तचित्त भएर लाग्नुपर्नेमा जोड दिए ।

लमजुङमा पहिलो संविधान सभा २०६४ मा एमालेका पृथ्वीसुब्बा गुरुङ र माओवादीका बुद्धिराम गुरुङ निर्वाचित भएका थिए । एमालेका डोलबहादुर (डीबी) कार्की र माओवादीका हिमकुमारी सुनार समानुपातिक सांसद भएका थिए ।

दोस्रो संविधान सभा २०७० को निर्वाचनमा एमालेका घले र कांग्रेसका चन्द्रबहादुर कुँवर निर्वाचित भएका थिए । एमालेका टुकाभद्र हमाल र डा. भीष्मनाथ अधिकारी समानुपातिक सांसद भए । कांग्रेसका दिलबहादुर घर्ती र माओवादीका लालबहादुर गुरुङ समानुपातिक सांसद भए ।

संविधान सभा सदस्य घलेले आफ्नो सम्मान आफैं ग्रहण गरे । नेकपा एमालेबाट निर्वाचित तथा समानुपातिक सांसद पृथ्वीसुब्बा गुरुङ, डा. भीष्मनाथ अधिकारी, टुकाभद्र हमाल र डोलबहादुर (डीबी) कार्कीको सम्मान जिल्ला अध्यक्ष राजकुमार विष्टले ग्रहण गरे ।

नेपाली कांग्रेसबाट निर्वाचित तथा समानुपातिक सांसद चन्द्रबहादुर कुँवर र दिलबहादुर घर्तीको जिल्ला सचिव कृष्णबहादुर अधिकारीले सम्मान ग्रहण गरे । माओवादीबाट निर्वाचित तथा समानुपातिक सांसद बुद्धिराम गुरुङ र लालबहादुर गुरुङको सम्मानपत्र पार्टी सचिव सुनिल सुनारले ग्रहण गरे । कार्यक्रममा एमालेका घलेबाहेक अन्य पूर्व सांसदहरू कोही उपस्थित थिएनन् ।

प्रकाशित : आश्विन ३, २०८१ १४:११
×