कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

घट्ट एउटा, चाप २४ सै घण्टा

आश्विन ३, २०८१
घट्ट एउटा, चाप २४ सै घण्टा

गोरखा — गत असार २९ गतेको वाढीले धार्चे गाउँपालिका– २ रुन्चेत खोला किनारमा रहेको चार वटा घट्ट बगायो । वर्षौदेखि अन्न पिसानीको लागि प्रयोग हुँदै आएका घट्ट बगाएपछि  झण्डै एक महिनासम्म स्थानीय समस्यामा थिए । तर अहिले स्थानीयको समेत सहयोगमा रुन्चेतका नेवार गुरुङले क्यूङचा भन्ने ठाउँमा घट्ट निर्माण गरी संचालनमा ल्याएका छन् ।

यसअघि चार वटा घट्टमा तीन सय घरधुरीका स्थानीयले आलोपालो अन्न पिसानी गर्दै आएकोमा हाल एउटा मात्र घट्ट भएपछि २४ सै घण्टा अन्न पिसानीका लागि पालो कुनुपरेको छ ।

रुन्चेतका नेवार गुरुङ घट्ट संचालकको रुपमा गाउँभर परिचित छन् । उनको चर्चा पनि छुट्टै छ । ३ सय घर धुरीको बस्ती रहेको रुन्चेतमा सबैभन्दा पहिले २०५४ सालबाट उनै गुरुङले पानीघट्ट संचालन गरेका थिए । संचालन थालेको २७ वर्षको अवधिमा तीन पटक घट्ट खोलाले बगाइसकेको छ । तर उनले संचालन छाडेका छैनन् ।

पछिल्लो पटक असार अन्तिम साताको बाढीले गुरुङले संचालन गरेको सबैभन्दा पुरानोसहित रुन्चेत खोला किनारका चार वटा घट्ट बगायो । घट्ट संचालनमा आएपछि ढिकी जाँतो छाडेका धार्चे गाउँपालिका–२ का रुन्चेतवासी झण्डै एक महिनासम्म समस्यामा परे ।

नाम निसाना समेत नरहने गरी घट्ट बगाएपछि छटपटीमा रहेका उनै ५७ वर्षीय नेवार गुरुङले दुई साता लगाएर नयाँ घट्ट निर्माण गरेका हुन् । पुन: संचालनमा आएको घट्टमा थेगिनसक्नुको चाप छ । ‘पहिले गाउँमा चार वटा घट्ट थियो, दिनभर चलाएर राति बन्द हुन्थ्यो,’ स्थानीय सुमित्रा गुरुङले भनिन्, ‘अहिले एउटै घट्ट छ, दिन रात २४ सै घण्टा चल्दा पनि अन्न पिस्न भ्याएको छैन ।’ एउटै घट्टमा अन्न पिसानीका लागि गाउँले घण्टौ पालो कुर्ने गरेका छन ।

हाल गुरुङको नवनिर्मित एउटै घट्टबाट रुन्चेतवासीको कुटानी पिसानीका भरथेग चलेको छ । नेवारले १३ दिन लगाएर घट्ट निर्माण गरेका हुन् । घट्ट निर्माणका लागि जग्गा सम्याउने, गिटी कुट्ने, गाह्रो लगाउने काममा स्थानीयले सघाए । मदानी, जाँतो, मदानी लगायतका सामाग्री नेवार आफैँले जुटाए ।

खोला किनारमा संचालन हुने भएकाले दुई पटकसम्म घट्ट बगाइसकेको नेवारले बताए । ‘२७ वर्ष भयो घट्ट चलाएको, दुइ खेप बगाइसक्यो, यो तेस्रो पटक बनाएको हुँ,’ उनले भने, ‘घट्ट नभए त अन्न पिसानीमा ठूलो समस्या पर्छ नि।’ केन्द्रीय विद्युत प्रसारणको विद्युत नपुगेको रुन्चेतमा स्थानीय लघु जलविद्युतबाट केही वर्ष अघिसम्म मेल संचालनमा थियो । हाल उक्त मिल पनि प्रयोगमा छैन ।

अन्न पिसानीमा घट्ट कै प्रयोग हुने नेवारकी श्रीमती सोवानी गुरुङले बताइन् । पहिले गाउँबाट आधा घण्टा दुरीमा रहेको घट्ट बगाएपछि अहिले घर नजिकै क्यूङचा भन्ने ठाउँमा निर्माण गरेको उनको भनाइ छ । ‘तल खोलाले कटान गरेपछि बनाउने ठाउँ सम्म रहेन,’ उनले भनिन्, ‘अहिले गाउँ नजिकै घट्ट निर्माण गरेका छौँ ।’

बर्खामा मुल फुट्ने क्युङचामा बग्ने पानीको सहायताले अहिले घट्ट संचालनमा छ । ‘धेरै सामान त सबै खोलाले कता/कता पुर्‍यायो, केही पुरानो र केही नयाँ सामान राखेर बनाएका हौँ,’ उनले भनिन्, ‘अहिले बर्खामा पानी ठूलो भएर घट्ट चलेको छ, हिउँदमा त पानी सुक्छ, खोलाकै पानी नल्याई सुख छैन ।’

घट्टमा मकै, गहु, कोदो लगायतका अन्न पिसानी हुने गरेको सुमीत्राले बताइन् । घट्टमा अन्न पिसे बापत एक पाथीको १५ रुपैयाँ वा सोही वापतको अन्न नै घट्ट संचालकलाई ज्याला स्वरुप उपलब्ध गराउने प्रचलन छ । घट्टमा पिसेको पिठोको स्वाद नै बेग्लै हुने भएकाले अन्न पिसानीका लागि घट्ट नै पुग्ने गरेको स्थानीय बताउँछन् ।

जाँतो घुमाए जस्तै घट्ट पानीको बहावले चल्ने यन्त्र हो । गोरखाको उत्तरी क्षेत्रमा धान खेती हुँदैन । स्थानीयस्तरमा उत्पादित मकै, गहुँ, कोदो लगायतका अन्न पिसानीका लागि अझै पनि पानी घट्ट लोकप्रिय छ । गत असार अन्तिम साताको बाढीले रुन्चेत खोला किनारमा रहेको चारमध्ये ३ वटा घट्ट बगाएको र एउटामा क्षति पुगेको थियो ।

प्रकाशित : आश्विन ३, २०८१ १९:११
×