कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२२

संविधान दिवसमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान

आश्विन ३, २०८१
संविधान दिवसमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान

बागलुङ — संविधान दिवसको अवसरमा बागलुङका द्वन्द्वपीडितलाई सम्मान गरिएको छ । बिहीबार आयोजित मूल समारोहको कार्यक्रममा सशस्त्र द्वन्द्वको बेला राज्य तथा विद्रोही पक्षबाट मारिएका सहिद, घाइते, अपांग र बेपत्ताका परिवारलाई सम्मान गरिएको हो ।

पालिका तहमा सबैको लागत निकालेर सम्मान गर्दै जाने लक्ष्यअनुसार संविधान दिवस मूल समारोह समितिले पहिलो दिन बागलुङ नगरपालिकाभित्रका पीडितलाई सम्मान गरेको हो । तत्कालीन शान्ति समितिले तयार पारेको तथ्यांक अनुसारको पीडितलाई मात्र सम्मान गर्ने नीति बनाएको मूल संयोजक अमरबहादुर थापाले बताए ।

सशस्त्र द्वन्द्वको समयमा बागलुङका १ सय ३९ जनाको मृत्यु भएको थियो । उनीहरुलाई राज्यले सहिद घोषणा गरेको छ । १ सय २ जना अपहरणमा परेका थिए । १७ जना बेपत्ता छन् । उक्त समयमा विस्थापित ७९ जना, अंगभंग २३ जना, घाइते ५३ जना रहेको तथ्यांक छ । सम्मान गरेर पीडितको आँसु पुछ्ने काम गरेको मृतकका परिवारका सदस्य बद्रीबहादुर केसीले बताए ।

दिवसको अवसरमा जातजाती, कला संस्कृति, विद्यार्थी, कर्मचारीले झाँकी तथा पञ्चेबाजा र भजनसहित प्रभातफेरीसमेत गरेका थिए । यहाँको सहिद पार्कमा पुगेर राजनीतिक नेतृत्वले श्रद्धाञ्जली पनि गरे । संविधानसभाका सदस्यहरु, दलका नेता, जनप्रतिनिधिसमेतले संविधानले नेपालीलाई रैतीबाट नागरिक बनाएको बताए । उनीहरुले संविधानले दिएको गणतन्त्र, विधिको शासन र प्रेस स्वतन्त्रता लगायतका उपलब्धि रक्षा गर्नुपर्ने बताए ।

त्यसअघि दिवसकै अवसरमा बुधबारदेखि नै दिपावली, विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता, मानवसेवा आश्रममा सहयोग, कैदीबन्दीलाई खेल सामग्री वितरण र अस्पतालका बिरामीलाई फलफूल वितरण गरियो ।

प्रकाशित : आश्विन ३, २०८१ १७:५५
×