कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना

भाद्र २८, २०८१
अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना

पूर्वी नवलपरासी — दुर्गम पहाडी बुलिङटार गाउँपालिकाको अत्रौलीटारमा अस्थायी प्रहरी चौकी स्थापना भएको छ । स्थानीयले प्रदान गरेको जग्गामा गाउँपालिकाको करिव २६ लाखको लागतमा प्रहरी चौकी भवन निर्माण सम्पन्न गरेर शुक्रबार उद्घाटन गरिएको हो ।

पूर्वी नवलपरासीका प्रहरी प्रमुख नरहरी रेग्मीले नवनिर्मित भवनको उद्घाटन गरे । उद्घाटनपछि बोल्दै प्रहरी उपरीक्षक रेग्मीले स्थानीयवासिन्दाको माग बमोजिम अत्रौलीटारमा अस्थायी प्रहरी चौकीबाट सेवा शुभारम्भ गरिएको बताए ।

पहाडी कालीगण्डकी करिडोर किनारमा निर्माण भएको चौकीले दुर्मगका जनतालाई प्रवाह गर्ने सेवा छिटो, छरितो र गुणस्तरीय रहने प्रहरी उपरीक्षक रेग्मीले बताए । पूर्वी नवलपरासीमा २८ वटा प्रहरी चौकी रहेका छन् । तीमध्ये १२ वटा अस्थायी प्रहरी चौकी रहेको छ ।

अत्रौली प्रहरी चौकी छिमेकी बौदीकाली र बुलिङटार गाउँपालिकाको सीमानामा रहेकाले दुबै पालिकालाई सेवा दिन सहज हुने बताइएको छ । रेग्मीले यहाँ निर्मित प्रहरी भवन नेपालकै नमूना भवन भएको दाबी गरे । तनहुसँग सीमाना जोडिएको अत्रौलीटार प्रहरी चौकी दुर्गम पहाडी चौकी हो । पूर्वी नवलपरासीको बुलिङटार, बौदीकाली र हुप्सेकोट गाउँपालिका दुर्गममा पर्दछन् ।

उद्घाटनका अवसरमा बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले पूर्वी नवलपरासीका विकटमा रहेका बुलिङटार र बौदीकाली गाउँपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न आफूले प्रयास गरिरहेको जानकारी दिए।

प्रकाशित : भाद्र २८, २०८१ १५:०३
×