कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

गण्डकी प्रदेशसभा बैठक भदौ २६ मा

भाद्र २२, २०८१
गण्डकी प्रदेशसभा बैठक भदौ २६ मा

कास्की — सरकार फेरबदलका कारण प्रभावित बनेको गण्डकी प्रदेशसभाको बैठक यही भदौ २६ गते बस्ने भएको छ ।

गत असार १८ मा बसेको प्रदेशसभा बैठक दुई महिनापछि बस्न लागेको हो । उक्त बैठकले गण्डकी सरकारको चालु आवको बजेट पारित गरेको थियो । सभामुख कृष्णप्रसाद धितालले सरकारको सिफारिसमा भदौ २६ गते बैठक आह्वान भएको जानकारी दिए ।

गण्डकी प्रदेशसभामा अहिले जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक र प्राइभेट फर्मसम्बन्धी विधेयक छलफलमा छन् । सरकारले केही दिनअघि मात्रै साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएको छ । यो विधेयक सदनमा टेबुल हुन बाँकी छ ।

जीवनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसद्‌मा सामान्य छलफलपछि थप छलफलका लागि सम्बन्धित समितिमा पठाइएको सचिवालयले जनाएको छ । २०८१ वैशाख १६ गते सर्वोच्चको परमादेशबमोजिम नियुक्त भएका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबारमात्र सरकारलाई पूर्णता दिएका छन् । गण्डकी प्रदेशका चार वटा संसदीय समिति छन् । उक्त समिति पनि अहिले निष्क्रिय छन् ।

६० सदस्यीय प्रदेशसभामा अहिले सरकारलाई ५३ सांसदको समर्थन छ । संसदीय समिति पनि पछिल्लोसमय कामविहीन बनेको सदस्यहरुले बताएका छन् । सामाजिक विकास तथा कृषि समिति सभापति फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री बनेपछि नयाँ नेतृत्व चुनिएको छैन । प्रदेश मामिला तथा कानुन समितिमा कांग्रेस सांसद चम्पादेवी खड्का सभापति छिन् भने अर्थ तथा विकास समितिमा भोजराज अर्याल सभापति छन् ।

सार्वजानिक लेखा समितिको सभापति भने सत्तारुढ दल एमालेका सुधीरकुमार पौडेल छन् । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समिति सभापति माओवादीले पाउनुपर्ने बताएको छ । यसअघि फणीन्द्र पनि सभापति माओवादीकै कोटाबाट बनेका थिए ।

सरकारले प्रदेश सरकारका लागि ४० वटा ऐन आवश्यक पर्ने बताए तापनि विधेयक तयार गर्नेतर्फ ध्यान नदिएको प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले बताए ।

प्रकाशित : भाद्र २२, २०८१ १७:०९
×