कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

कास्कीको अन्नपूर्णमा स्पेनी पर्यटक मृत फेला, एक अझै बेपत्ता

भाद्र ११, २०८१
कास्कीको अन्नपूर्णमा स्पेनी पर्यटक मृत फेला, एक अझै बेपत्ता

पोखरा — कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबारदेखि हराइरहेका दुई स्पेनी पर्यटकमध्ये एक जनाको शव फेला परेको छ । अन्नपूर्ण गाउँपालिका–९ तिखेढुंगाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएका थिए ।

मंगलबार इरिकको शव भुरुङ्दी खोलामा बालुवाले पुरेको अवस्थामा भेटिएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले बताए । महिलाको भने वीरेठाँटी प्रहरी कार्यालयबाट खटिएको प्रहरी, पर्यटक प्रहरी र सशस्त्र प्रहरीको गोताखोर समूहले खोजी गरिरहेको उनले जनाए ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का वीरेठाँटी चेकपोस्ट इन्चार्ज यामबहादुर गुरुङका अनुसार उनीहरूले आइतबार बिहान १० बजेर २१ मिनेटमा घोरेपानी पदयात्रामा जानका लागि नाम दर्ता गराएका थिए । घोरेपानी पुग्न उनीहरूले मोटरबाटो छोडेर पुरानो पदयात्रा मार्ग रोजेका हुन् । उक्त बाटोमा भुरुङ्दी खोलाको झरना नजिकै आइतबार साँझ स्थानीयले दुई झोला बेवारिसे अवस्थामा भेटेका थिए ।

सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेकाले पर्यटकलाई भुरुङ्दी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको थियो । ‘बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले सोमबार दिनभर खोजी गरियो,’ उनले भने, ‘पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यहीँ फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुन सक्छन् ।’ जनप्रतिनिधि, प्रहरी तथा स्थानीयवासीसहितले सोमबार दिनभर खोज्ने क्रममा झरना नजिकै पदयात्रामा निस्कँदा टेक्ने लौरी फेला पारेका थिए ।

मंगलाबार सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनबाट ५ जना गोताखोरसहितको टोली, वीरेठाँटी प्रहरी चौकीबाट खटिएको प्रहरी, स्थानीयले खोजबिन गर्ने क्रममा पुरुष पर्यटकको शव फेला परेको थियो । महिला पर्यटकको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : भाद्र ११, २०८१ १५:०८
x
×