लौठ सल्ला र चिउरी संरक्षणका लागि ‘ट्यागिङ’

भाद्र २७, २०८१

हरिराम उप्रेती

Tagging for conservation

गोरखा — लोपोन्मुख प्रजातिको लौठसल्ला र चिउरीको संरक्षण अभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले धार्चे गाउँपालिका–५ स्थित नाङस्याङ सामुदायिक वन क्षेत्रमा रहेको लौठ सल्लाको ‘ट्गागिङ’ गरेको हो ।

झण्डै दुई हेक्टर क्षेत्रफलमा रहेको लौठ सल्लाको प्राकृतिक प्लटलाई संरक्षण गरी कटिङ संकलन गर्ने स्थानको रुपमा विकास गर्ने लक्ष्य राखिएको डिभिजन वन कार्यालय प्रमुख मोहन शाण्डिल्यले बताए ।

‘नाङस्याङ सामुदायिक वनमा रहेको लौठ सल्लाका माउ रुखको ट्गागिङ गरेका छौँ,’ उनले भने, ‘कटिङ गरेर यसको विस्तार पनि गर्न सकिन्छ भनेर अहिले संरक्षण  गरेका हौँ ।’ नाङस्याङ वन क्षेत्रको ५० भन्दा बढी बोटमा ट्यागिङ गरिएको उनले बताए । झाडी सरसफाई तथा घेरबार गरेर लौठसल्लाका सानो विरुवाको पनि संरक्षण गरिएको उनले बताए ।

गत आर्थिक वर्ष लौठसल्ला संरक्षणका लागि करिब ७ लाख रुपैयाँ खर्च भएको उनले बताए । बहुमुल्य र लोप हुने अवस्थामा रहेकाले संरक्षण थालेको उनको भनाइ छ । दुई हजार मिटर उचाईमा पाइने लौठ सल्ला संरक्षणका लागि वन उपभोक्ता समूहलाई पनि सचेतना दिइएको छ । लौठ सल्लाको पात बहुमुल्य रहेको पनि उनले बताए ।

त्यस्तै गण्डकी गाउँपालिका–१ अन्तरगत पिपलडाँडा र पाँचभाई चिउरी कबुलियती वन क्षेत्रमा चिउरीको प्लटलाई संरक्षण गरिएको छ । गण्डकी गाउँपालिका क्षेत्रमा रहेको चिउरीको क्लष्टर बनाएर संरक्षण अभियान सुरु गरिएको हो ।

‘बीउ संकलन गर्ने उद्देश्यले चिउरीको संरक्षण गरेका हौँ,’ उनले भने,‘अब चिउरी डिभिजन वन कार्यालयको नर्सरीबाट पनि उत्पादन गर्ने तयारीमा छाौ ।’ गण्डकी गाउँपालिकाका दुई हेक्टर कबुलियती वन क्षेत्रमा रहेको चिउरीलाई तारबारसहित संरक्षण गरिएको छ । वन क्षेत्रमा रहेको एक सय ६० भन्दा बढी चिउरीको बोटको ट्यागिङ पनि गरिएको छ ।  

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully