कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४२

बर्थिङ सेन्टर खुलेपछि रमुवावासीलाई सहज

भाद्र २८, २०८१
बर्थिङ सेन्टर खुलेपछि रमुवावासीलाई सहज

बागलुङ — दुई वर्षअघिसम्म गलकोट नगरपालिका-१० को रमुवामा स्वास्थ्य संस्था थिएन । नगरपालिकाको मुकामबाट जिप चढेर ५ घण्टामा पुगिने रमुवाका बासिन्दा महिला सुत्केरी हुनु पर्दा डेरा खोजेर सदरमुकाम वा गलकोटको हटियामै आएर बस्थे । सुत्केरी हुनु पूर्व एक महिनादेखि बस्ने उनीहरुले सुत्केरी भएपछि पनि एक महिना बस्नै पर्ने बाध्यता थियो ।

गाउँमा स्वास्थ्य संस्था नहुँदा घरमै प्रसूति हुने महिलाको संख्यासमेत ठूलै थियो । कतिपयले निरन्तर स्वास्थ्य परीक्षण र प्रसूति सेवा नपाउँदा ज्यान नै गुमाए । हेलिकोप्टरबाट उद्दार गर्दा एक जनाकै लागि ३ लाखसम्म खर्च गर्नुपर्ने स्थिति समेत बन्यो।

तर अहिले गाउँमै बर्थिङ सेण्टर खुलेपछि सेवा पाउन सहज भएको छ । नगरपालिकाले लगानी गरेर यहाँ सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको थियो । पछि त्यही इकाइलाई नगरपालिकाले प्रसूति केन्द्र बनाएको हो । नगरपालिकाको अभियानमा फेयरमेड फाउण्डेसनले प्रसूति गराउने बेड र बेबी वार्मर मेसिन लगायत सामाग्री सहयोग गरेको छ ।

अहिले त यहाँ एक वर्षमा १२ जना बढीले सुरक्षित प्रसूति सेवा पाएका छन् । त्यसबाहेक पाण्डवखानी स्वास्थ्य संस्थामा वर्षमा ३० जनासम्मले प्रसूति गराउँछन् । वडाको केन्द्र पाण्डवखानी पुग्नै ३ घण्टा लाग्ने भएकोले रमुवामा इकाइ स्थापना भएको थियो । रमुवाबाहेक छिमेकी बडिगाड गाउँपालिका-८ भेडीखोर र खोलाखर्कका महिलाले पनि सेवा लिएका छन् ।

‘हामीले स्थापना गरेको स्वास्थ्य इकाइले धेरै महिलाको ज्यान बचाउन सकेको छ,’ नगर स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले भने, ‘सानो लगानीमा सहयोगी संस्थाले दिएको उपकरणले ठूलो सफलता मिलेको छ ।’ सबैलाई स्वास्थ्य संस्थामा प्रसूति गराउन सकेको, ज्यान बचाउन सकेको कारणले उत्कृष्ठ पालिकाको रुपमा गलकोट पुरस्कृत पनि भयो ।

गलकोट नगरपालिकाका सबै वडाका स्वास्थ्य संस्थामा परियोजनाले बेबीवार्मर मेसिन सहयोग गरेको छ । जसका कारण जाडो मौषममा पनि शिशुको सुरक्षामा सहयोग पुगेको छ । अहिले जिल्लाका ३३ वटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान भएका छन् । तीमध्ये २० वटा परियोजनाकै सहयोगमा जोडिएका हुन् ।

‘हामीले तालिम दिने र जागरण ल्याउनेमा साथ दिएका छौं, केही उपकरण पनि खरिद गरेर दियौं,' परियोजनाका अधिकृत गणेश बरुवालले भने, ‘अभ्यासकालागि साथ दिएपछि अहिले समुदायनै परिचालन भएको छ ।’ एक दर्जन स्वास्थ्य संस्थामा मात्र बर्थिङ सेन्टर रहेकोमा अहिले बढेर ७२ वटा संस्थामा बिस्तार भएको छ ।

६ वर्षकै अवधिमा जिल्लाका ४३ स्वास्थ्य संस्थामा ल्याब बनेका छन् । सोही अनुसार सबै स्वासथ्य संस्थामा दक्ष प्रसूतिकर्मी र ल्याब संचालन गर्न सक्ने जनशक्ति पुगेका छन् । यो अभियानमा ग्रामीण स्वास्थ्य सुधार परियोजनामा साझेदार गरेको बिवाईसी र फेयरमेड फाउण्डेसनले प्रत्येक बर्थिङ सेन्टरमा एक/एक वटा प्रसूति गराउने बेड र प्रसूति सामग्री र त्यहाँ प्रयोग हुने उपकरण पनि सहयोग गरेको छ ।

त्यसबाहेक दर्जन बढी प्रसूति प्रतिक्षाघर पनि बनेका छन् । स्थानीय पालिकाको साझेदारीमा ५ लाख देखि ७ लाख खर्चेर दुइ कोठाका प्रतिक्षाघर बनेका हुन् । प्रसूति हुनुपूर्व र प्रसूति भैसकेपछि पनि साता दिनसम्म यो प्रतिक्षाघरमा बस्न पाउने व्यवस्था समेत छ ।

निसीखोलाको बोहोरागाउँ स्वास्थ्य चौकी, बडिगाड गाउँपालिकाको खरवाङ, ताराखोला गाउँपालिकाको हिल स्वास्थ्य चौकी, बरेङ गाउँ पालिकाको हुग्दीशिर र धुल्लुबास्कोटलगायतका स्थानमा प्रतिक्षाघर बनेका छन् । सबैभन्दा धेरै प्रसूति गराउने बोहोरागाउँमा यो घर नियमित उपयोग भएको छ भने अन्यमा पनि धेरै समय उपयोग भएको स्वास्थ्यकर्मीले बताए ।

‘वर्षमा १ सय ५० जनासम्मले प्रसूति सेवा लिंदा १ सय २० बढीले यो घरको उपयोग गरेका छन्,’ सिनियर अनमि ताराकुमारी चन्दले भनिन्, ‘समयमै आइपुगेकालाई जटिल अवस्था हुने देखियो भने सुविधासम्पन्न अस्पतालमापनि पठाउन सकिएको छ ।’

यहाँ बस्न आउनेलाई खाने र बस्ने व्यवस्थापन गरिएको छ । यो अभियानले जिल्लाको आमा र शिशु सुरक्षामा उल्लेख्य प्रगति भएको जनस्वास्थ्य अधिकृत लक्ष्मी शर्माले बताइन् । अझै केही ग्रामीण बस्तीको बाध्यता र सचेतना अभावले शतप्रतिशत परिणाम नआएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २८, २०८१ १९:५२
×