कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दानपेटिका फुटाएर रकम चोरी

भाद्र १०, २०८१
दानपेटिका फुटाएर रकम चोरी

गोरखा — गोरखा नगरपालिका–३ नारेश्वर भञ्ज्याङको शिव मन्दिरभित्र रहेको दानपेटिका फुटाएर रकम चोरी भएको छ । आइतबार राति  मुल गेट फोडेर मन्दिर भित्रको दानपेटिकाको रकम चोरी भएको स्थानीय किसान थापाले बताए । 

‘मुख्य गेट फुटाएर भित्र रहेको दानपेटिकाको रकम चोरी भएको छ,’ उनले भने, ‘आज(सोमबार) बिहान दानपेटिका मन्दिर भन्दा एक सय मिटर पर फेला पार्‍यौँ ।’ दानपेटिकामा करिब १० हजार रुपैयाँ रहेको अनुमान गरिएको छ ।

‘दान बाकस पनि ठूलो थियो, शिवरात्रीमा धेरै नै पैसा जम्मा भएर अहिले भरिनै लागिसकेको थियो,’ उनले भने, ‘सिक्का मात्र छाडेर, नोट सबै चोरी भएको छ ।’ शिवरात्रीदेखि जम्मा भएको रकम चोरी भएको थापाले बताए ।

‘दशैँमा झिकेर कुनै नयाँ काम गर्ने भनेर संगालेका थियौँ, दानबाकसमाथि शंख, घन्ट लगायतका पूजा सामाग्री थिए, त्यसलाई झिकेर दानबाकस नै बोकेर अलि पर लगेको रहेछ ।’ सोमबार बिहान मन्दिरभित्र रहेको दानबाकसको रकम चोरी भएको थाहा पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले पनि घटनाको अनुसन्धान थालेको छ । दानबाकस छाडेको ठाउँमा एउटा हम्मर फेला परेको पनि उनले बताए ।

प्रकाशित : भाद्र १०, २०८१ २०:१६
x
×