कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२

बागलुङ रेडक्रसमा प्लेटिलेट्स नहुँदा बिरामी रिफर

भाद्र ९, २०८१
बागलुङ रेडक्रसमा प्लेटिलेट्स नहुँदा बिरामी रिफर

Highlights

  • उपकरणका लागि बजेट अभाव

बागलुङ — वर्षातको समयमा सर्पले टोकेका बिरामी उपचारका लागि आइरहन्छन् । पछिल्लो समय त डेंगीका बिरामी पनि बढेका छन् । यी दुवै खालका बिरामीको रगत पातलो भएको हुन्छ । त्यो समस्या समाधानका लागि प्लेटिलेट्स (चलनचल्तीको भाषमा सेतो रगत) आवश्यक पर्छ ।

धौलागिरि अस्पतालमा शल्यक्रियाका लागि दैनिक एक/दुई जनालाई सेतो रगत आवश्यक पर्छ । तर बागलुङमा सेतो रगतको भण्डारण नहुँदा उनीहरूलाई पोखरा रिफर गर्नुपर्ने बाध्यता रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको रक्तसंचार केन्द्रमा सेतो रगत भण्डारण हुन नसक्दा जनशक्ति भएर पनि कतिपय बिरामी रिफर गर्नुपर्ने बाध्यता भएको हो । धौलागिरि अस्पतालमा शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक भए पनि शल्यक्रियाका लागि अत्यावश्यक मानिएको सेतो रगत भने उपलब्ध छैन । रगत अभावकै कारण केही बिरामी पोखरा रिफर गर्न बाध्य भएको अस्पतालका चिकित्सकहरू बताउँछन् ।

रिफर भएर पोखरा पुग्दा थप दुई/तीन घण्टा लाग्छ । उक्त समयमा बिरामीको मृत्युसमेत हुन सक्ने जोखिम भएकाले रेडक्रसले बागलुङमा उक्त सेवा थप गर्न खोजेको छ । तर आएका केही उपकरणले मात्र नपुग्दा दाताको खोजीमा रहेको सभापति जगन्नाथ आचार्यले बताए । ‘यो डी श्रेणीको रक्तसंचार हो, हामीले सी श्रेणीको बनाउन खोजेका छौं,’ आचार्यले भने, ‘कम्तीमा सेतो रगत भण्डारण गर्ने व्यवस्थापन खोजेका हौं ।’ यहाँ रातो रगत भण्डारण बढाउन पनि पहल भइरहेको उनले बताए ।

दाताले दान गरेको रगतबाटै सेतो बनाउन सकिने रातो रगत, प्लेटिलेट्स र प्लाज्मा छुट्याउनलाई कम्पोटेन्ट मेसिन आवश्यक पर्छ । रक्तसंचारले केही उपकरण खरिद गरेर ल्याए पनि अन्य आवश्यक उपकरण खरिदका लागि बजेट अभाव हुँदा २ वर्षदेखि भएका सामान पनि स्टोरमा थन्किएको आचार्यले बताए । ‘हामीले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै जनप्रतिनिधि, स्थानीय तहसमेतलाई पटक–पटक आग्रह गरेका छौं । थोरैथोरै सहयोग गरेर भए पनि यो रक्तसंचार केन्द्र संचालन गरौं,’ उनले भने, ‘कम्तीमा ३५ लाख रुपैयाँ संकलन भएमा तत्कालका लागि संचालनमा आउनेछ ।’ थप सहयोग नपाउँदा झण्डै २० लाखका सामान स्टोरमा थन्केको उनले बताए ।

रक्तसंचार केन्द्रका स्रोतव्यक्ति गुरुप्रसाद शर्माका अनुसार अहिले बढीमा ५० पिन्ट मात्रै रगत भण्डारणको क्षमता भएको बताउँछन् । भएका उपकरण पनि संचालनमा ल्याउन सकेमा क्षमता पनि दोब्बर बढ्ने उनको दाबी छ । ‘सामान्य अवस्थामा त हामीले थोरै रकम संकलन गरेर पनि पुर्‍याएका छौं,’ शर्माले भने, ‘दुर्घटनाका बिरामी आउँदा यो क्षमताले पुग्दैन ।’ मध्यपहाडी लोकमार्ग रुकुमदेखि बागलुङबाट संचालन भएकाले दुर्घटनाका बिरामी धेरै आउने गरेको उनले बताए । त्यतिबेला रगतको कमी हुने गरेको हो ।

वर्षातको समयमा बढी सेतो रगत आवश्यक पर्दा अधिकांश बिरामीलाई पोखरा रिफर गर्नुपरेको धौलागिरि अस्पतालका कन्सल्ट्यान्ट एनेस्थेसियोलोजिस्ट डा. अमित ढुंगानाले बताए । ‘कतिपय अन्य समस्याका बिरामीलाई पनि प्लेटलेस र प्लाज्मा आवश्यक पर्छ,’ उनले भने, ‘रक्त संचार केन्द्रमा दुवै रगतको बराबरी भण्डारण आवश्यक पर्छ ।’ रातो रगत चाहिँदा सम्पर्कमा रहेकाहरूलाई बोलाउन सकिए पनि सेतो रगतका लागि मेसिन नै चाहिने उनले बताए । धौलागिरि अस्पतालमा दैनिक ४ सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।

छिमेकी जिल्ला पर्वत र म्याग्दीमा समेत रक्तसंचार केन्द्र छैन । जसका कारण रगतको आवश्यकता पर्ने बिरामीलाई तत्काल धौलागिरि अस्पताल ल्याइने गरिएको छ । जिल्ला समन्वय समितिमार्फत जिल्ला सभामा पनि सभापति आचार्यले यो बाध्यता सुनाएका थिए । त्यसपछि कतिपय पालिकाका जनप्रतिनिधिले साथ दिने प्रतिबद्धता जनाएका छन् भने कतिपयले बेरुजु आउने डर भएको बताए । दुई वा दुईभन्दा बढी पालिकाको साझा योजनाका रूपमा लगानी गर्न सकेमा त्यसबाट संघीय सरकारको अनुदान पाउने व्यवस्था पनि छ । त्यस अभियानमा साथ दिन आचार्यले पालिका प्रमुखलाई आग्रहसमेत गरेका छन् ।

प्रकाशित : भाद्र ९, २०८१ २०:३०
x
×