कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

पढाइको तृष्णा : उमेर ५१, कक्षा ९

भाद्र ३, २०८१
पढाइको तृष्णा : उमेर ५१, कक्षा ९

Highlights

  • छोरा एमबीबीएस पढ्दै

गोरखा — भीमसेन थापा गाउँपालिका–२ तान्द्राङस्थित ओख्ले घर भएका नवीन भट्ट ५१ वर्षका भए । यस उमेरमा उनी नजिकैको गोरखा नगरपालिका–६ पाटेचौरस्थित शक्ति माविमा कक्षा ९ मा भर्ना भएका छन् ।

हरेक दिन नीलो पाइन्ट, सेतो सर्ट र ढाकाटोपीमा उनी विद्यालय पुग्छन् । कुनै कक्षा छुटाउँदैनन् । यही वर्ष भर्ना भएका भट्टका छोराछोरी उमेरका साथीसंगी छन् ।

वैशाखमा भर्ना भएदेखि नै उनले पढाइमा देखाएको लगाव देखेर शिक्षकहरू पनि दंग छन् । भट्ट पढाइलाई उमेरले नछेक्ने बताउँछन् । ‘राति ४ घण्टा मात्र सुत्छु, अरू बेला पढेरै समय बित्छ,’ उनी भन्छन् । भट्टका एक छोरी र दुई छोरा छन् । जेठो छोरा पुर्पक्ष काठमाडौंस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस दोस्रो वर्षमा पढ्दै छन् ।

गत मंसिरमा आफूले पढ्ने निधो गरेको भट्टले बताए । ‘भर्ना हुने बेला छोराले नरमाइलो मानेको थियो । साथीहरूले गिज्याउलान्, अर्काले के भन्लान् जस्तो गरेको थियो, मैले सम्झाएपछि बुझ्यो,’ उनले भने । भट्टले यसअघि २०५३ सालमा दुल्लभ माविबाट एसएलसी दिएका थिए तर सफल भएनन् । त्यसपछि पढाइलाई निरन्तरता दिन पाएनन् । ‘उमेर, जोसजाँगर हुँदा पढ्न पाइएन, फेरि आर्थिक स्थिति पनि कमजोर थियो,’ उनले भने, ‘एसएलसीको जाँच सकेकै दिन काम खोज्दै दिल्ली (भारत) गएको थिएँ ।’

२०५६ सालमा दिल्लीबाट फर्किएपछि पुनः पढाइलाई निरन्तरता दिने सोच बनाए पनि पाठ्यक्रम परिवर्तन भएकाले अघि बढ्न नसकेको उनले बताए । ‘इन्डियाबाट फर्कंदा कोर्स फेरिइसकेछ, बिहे पनि भयो, पढाइभन्दा घरव्यवहारमा भुलें,’ उनले भने । झन्डै २५ वर्ष घरव्यवहार र खेतीकिसानीमा बिताएर ज्ञान आर्जन गर्न पुनः पढाइलाई निरन्तरता दिएको उनले सुनाए । ‘माटो मात्र चलाउँदा मलाई सन्तुष्टि भएन । पैसा कमाइन्थ्यो होला, ज्ञान भएन,’ उनले भने ।

२८ वर्षपछि पुनः पढ्न थालेका भट्टको लेखाइ र पढाइमा पनि सुधार हुँदै गएको छ । सुरुका दिनमा लेखाइ ढिलो हुने गरेको उनीसँग अनुभव छ । ‘आफैंले लेखेको बुझ्थिनँ । लेख्न थाल्यो ढिलो, अक्षरको क्रम पनि बिर्सिसकेको रहेछु,’ उनले भने, ‘अभ्यास गर्दै जाँदा सहज भएको छ, पहिलो परीक्षा आउँदै छ, नजानेको कुरा कक्षाका छोराछोरीलाई सोध्छु, नजानेको कुरा सरलाई जहाँ भेट्यो त्यहीं सोध्छु ।’ दुई वर्षपछि एसईई दिएर छोराजस्तै डाक्टर बन्ने उनको लक्ष्य छ । भट्टको पढाइ राम्रो रहेको विद्यालयका प्रधानाध्यापक बद्री अर्यालले बताए । सिकाइको स्तर अन्य विद्यार्थीको जस्तै रहेको उनले जानकारी दिए ।

प्रकाशित : भाद्र ३, २०८१ १५:४६
x
×