कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८९

धुलिखेल–खावा सडकमा बिहीबार र शुक्रबार मालवहाक गाडी चलाउन रोक

भाद्र १९, २०८१
धुलिखेल–खावा सडकमा बिहीबार र शुक्रबार मालवहाक गाडी चलाउन रोक

काभ्रे — अरनिको राजमार्गअर्न्तगत काभ्रेको धुलिखेल–खावाखण्डमा दुई दिन ट्रिपरलगायत मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ । 

सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार सूचना जारी गर्दै धुलिखेल–खावा सडक खण्डमा यही भदौ २० गते बिहीबार र २१ गते शुक्रबार टिपर तथा मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने जानकारी गराएको हो ।

निर्माणाधीन धुलिखल–खावा सडक खण्ड अत्यन्तै जीर्ण भई यातायात सञ्चालनमा कठिनाई भएकाले सडक मर्मत तथा संभार गर्नका लागि सो सडकमा मालवहाक सवारी साधन सञ्चालनमा रोक लगाइने सडक डिभिजन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा उल्लेख छ ।

वर्षाले गर्दा उक्त सडक खण्ड हिलाम्मे भएपछि केही सातादेखि सवारीहरु बिच बाटोमै घण्टौंसम्म रोकिने गरेका छन् । धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतिको काम समयमै नसकिँदा यात्रुहरुले दिनहुँ सास्ती खेपिरहेका छन् ।

धुलिखेल–खावा चार किलोमिटर सडकखण्डको विस्तार र स्तरोन्नतिको कामको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रा.लिको लापरबाहीका कारण सडक अलपत्र छ । सडक सुधारका लागि सडक डिभिजन कार्यालय भक्तपुर र गौरी–पार्वती निर्माण सेवाबीच २२ महिनामा कामसक्ने गरी २०७९ जेठ २० गते सम्झौता भएको थियो ।

सम्झौताअनुसार ०८० चैत १९ गते नै काम सक्नुपर्थ्यो । ३० करोड ७८ लाख २ हजार ३० रुपैयाँको लागतमा उक्त सडक खण्ड स्तरोन्नतिको कार्यलाई गौरी–पार्वती निर्माण सेवाले २० करोड १९ लाख ४६ हजार ५०१ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । हालसम्म करिब ३५ प्रतिशत कार्यसम्पन्न गरेको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ २०:५७
x
×