कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०७

आर्थिक क्रान्तिबाटै महिला सशक्त हुन्छन् : मन्त्री खड्गी

भाद्र १८, २०८१
आर्थिक क्रान्तिबाटै महिला सशक्त हुन्छन् : मन्त्री खड्गी

काभ्रे — वाग्मती प्रदेशको सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीले महिला सशक्तिकरणको पहिलो आधार आर्थिक क्रान्ति रहेको बताएकी छिन् । 

काभ्रेको बेथानचोक गाउँपालिकामा मंगलबार आयोजित तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्गीले अबको लडाइँ आर्थिक क्रान्तिको लागि हुनुपर्ने बताइन् । ‘तीज पर्व, रातो रङको पर्व, रातो रङ शक्तिको प्रतिक मानिन्छ,’ नेपाली हिन्दु महिलाहरुको पर्व तीजको शुभकामना दिँदै उनले भनिन्, ‘यही रङको प्रतिकले पनि महिलाहरु आफैमा शक्ति छ भन्ने कुराको संकेत गरेको छ, आफैंमा भएको शक्तिलाई पहिचान गरेर सशक्त हुन सक्नुपर्छ ।’

देशमा लोकतन्त्र ल्याउन महिलाहरुले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताइन् । उनका अनुसार, तुलानात्मक रुपमा महिलाहरु शैक्षिक, आर्थिक सामाजिक, राजनीतिक रुपमा सशक्त भएको देखिएको छ । संवैधानिक अधिकारले अहिले ७ सय ५३ वटै स्थानीय तहमा महिलाहरुको नेतृत्व भएको देखिन्छ । गाउँका महिलाहरुलाई अझै सशक्त बनाउन आवश्यक रहेको र यसका लागि प्रशिक्षण तथा अभिमुखीकरण लगायतका कार्यक्रम गर्न उनले सुझाव दिइन् ।

महिलालाई घरको 'गृहमन्त्री' र 'प्रधानमन्त्री' भनेर भन्ने भन्दा पनि देशकै गृहमन्त्री र प्रधानमन्त्रीको पद दिनुपर्ने उनको भनाइ थियो । समाजमा जरा गडेर बसेको कुरीति र कुसंस्कारको अन्त्य गरी आफ्नो, कला, संस्कार र संस्कृति संरक्षण गर्न उनले आग्रह गरिन् ।

कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेले महिला सशक्तिकरणबाट मात्रै देशको सर्वांगिण विकास सम्भव रहेको बताए ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले भने महिला सशक्तिकरणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले गाउँपालिकाले महिलाहरुलाई सशक्त बनाउने अभियानस्वरुप यस आर्थिक वर्षको महिलालक्षित तीज कार्यक्रमबाट सुरु गरेको बताए ।

प्रकाशित : भाद्र १८, २०८१ २०:३३
x
×