कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

उपचारको क्रममा निधन भएको घटनामा छानबिन समिति

भाद्र ५, २०८१
उपचारको क्रममा निधन भएको घटनामा छानबिन समिति

चितवन — भरतपुर अस्पतालमा पाठेघरको उपचारका लागि आएकी महिलाको मृत्यु भएको सम्बन्धमा छानबिन गर्न सोही अस्पतालका चिकित्सक डा.प्रकाश खतिवडाको संयोजकत्वमा समिति गठन भएको छ । 

बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा भएको सुरक्षा समिति बैठकले सर्वपक्षीय समिति बनाउने निर्णय गरेको हो । सोमबार अस्पताल आएकी महिला सम्झना काफ्लेको मंगलबार राति निधन भएको थियो । उक्त घटनाका बारेमा छानबिन गर्न भरतपुर अस्पतालले पनि डा.मणि गौतमको संयोजकत्वमा समिति बनाइसकेको छ ।

सुरक्षा समितिको निर्णयपछि डा.खतिवडाको संयोजकत्वमा गठन भएको समितिले सात दिनभित्र प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन बुझाउने छ । समिति गठन भएसँगै आफन्तहरुले शव बुभ्ने प्रक्रिया सुरु गरेको समितिका सदस्य रहेका रमेश काफ्लेले बताए । सत्य-तथ्य छानबिनको लागि गृह मन्त्रालय, स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल काउन्सिलमा पनि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

छानबिन समितिको प्रतिवेदनका आधारमा नै आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने भन्ने निर्णय पनि बैठकमा भएको छ । भदौ ३ गते सोमबार मध्याह्न भरतपुर महानगरपालिका–१२ मुनालचोक ठेगाना भई हाल गैंडाकोट बस्ने ३९ वर्षीया सम्झना काफ्ने उपचारका लागि भर्ना भएकी थिइन् । पाठेघरमा ट्युमर पलाएको हुँदा मंगलबार शल्यक्रियाको लागि उनको पालो परेको थियो । मंगलबार बिहान नौ बजे उनलाई अप्रेशन थिएटरमा लगिएको थियो । ‘ठुलो ट्युमर थिएन । त्यसैले मेजर अप्रेशन हैन । बिना चिरफार दुरबिन छिराएर बायप्सिका लागि पाठेघरको मासुको अंश झिक्न खोजेको हो । त्यसैले ठुलो अप्रेशनपछि उहाँको पालो आउँदा दुई बजेतिर बेहोस बनाउन औषधि दिइएको थियो,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.कृष्णप्रसाद पौडेलले भने ।

दुरबिन छिराउने बित्तिकै समस्या देखिएपछि आईसीयूमा राखेको काफ्लेको मंगलबार राति साढे १० बजे मृत्यु भएको हो । अचानक भएको हृदयघातले नै यस्तो भएको हुन सक्ने डा.पौडेलले बताए ।

प्रकाशित : भाद्र ५, २०८१ २०:३४
x
×