कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

लगानीमैत्री कानुन बनाइनेछ : मुख्यमन्त्री लामा

भाद्र २६, २०८१
लगानीमैत्री कानुन बनाइनेछ : मुख्यमन्त्री लामा

मकवानपुर — वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले वाग्मती प्रदेशमा लगानीमैत्री कानुन बनाइने प्रतिबद्धता जाहेर गरेका छन् । उद्योग वाणिज्य संघ मकवानपुरद्वारा बुधबार हेटौंडामा आयोजित स्वागत एवम् सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले उद्योगको स्थापनाबिना रोजगारी सिर्जना सम्भव नभएको बताउँदै लगानीका लागि आवश्यक कानुन निर्माण गरिने बताएका हुन् । 

‘हामीले के गर्दा रोजगारी बढ्छ भनेर पहिला निर्कोल गर्न जरुरी रहेको छ । उद्योगको स्थापनाविना रोजगारी सम्भव छैन । त्यसैले उद्योगीका लागि लगानीमैत्री कानुन निर्माण गर्नु अहिलेको आवश्यकता हो,’ उनले भने । उद्योग स्थापनाका लागि दर्ता गर्ने समयबाटै उद्योगीले दुःख पाउने गरेको बताउँदै त्यसका लागि नीतिगतरुपमा गर्नुपर्ने सुधारका लागि आफू तयार रहेको उनको भनाइ छ ।

मुख्यमन्त्री लामाले उद्योगीसँग कर लिएपछि उनीहरुलाई सेवासुविधा पनि दिन जरुरी रहेको बताए । ‘उद्योगका समस्याहरू धेरै छन् । लगानीकर्ताले जहिले पनि सुरक्षित महसुस गर्ने वातावरण राज्यले तयार पार्न जरुरी छ । त्यसका लागि कर छुट दिने हो वा अन्य सेवासुविधा यसविषयमा राज्य क्लियिर हुन जरुरी छ,’ मुख्यमन्त्री लामाले भने ।

मुख्यमन्त्री लामाले सर्वसाधारण, राजनीतिक दल र भ्रातृ संगठनले उद्योगीलाई दुःख दिने गरेको समेत बताए । ‘कर्मचारीले पनि उद्योगीलाई दुःख दिने गरेका छन् । यो गलत हो,’ उनले भने । उद्योगी र सरकारवीच समन्वय हुन जरुरी रहेको उनले बताए ।

संघ अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र वरिष्ठ उपाध्यक्ष अनिल अग्रवालले उद्योगीको समस्याको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित : भाद्र २६, २०८१ १२:३७
×