कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वार्डेनले मुहानको ट्यांकी भत्काइदिँदा छाप टुसाल गाउँमा खानेपानीको हाहाकार

भाद्र २६, २०८१
वार्डेनले मुहानको ट्यांकी भत्काइदिँदा छाप टुसाल गाउँमा खानेपानीको हाहाकार

मकवानपुर — शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएको पानीको मुहान ट्यांकी भत्काइदिँदा काठमाडौं–५, बुढानीलकण्ठ छाप टुसाल गाउँमा खानेपानीको हाहाकार मच्चिएको छ ।

निकुञ्जका वार्डेन डा. गणेश पन्तको आदेशमा मुहानमा रहेको ट्यांकी भत्काएर पानीको पाइप काटेपछि आफूहरूलाई समस्या सिर्जना भएको भन्दै छाप टुसाल खानेपानी व्यवस्थापन समिति बुढानीलकण्ठ–५, काठमाडौंवासीले वाग्मती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय समस्या समाधानका लागि निवेदन दर्ता गराएका छन् ।

मंगलबार दलबलसहित मन्त्रालय आइपुगेका गाउँलेले तत्काल समस्या समाधान गरिदिन खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्यामबहादुर खड्कालाई आग्रह गरेका छन् ।

‘हामीले निकुञ्जकै सहमतिमा अघिल्लो वर्षमात्र एक लाख रुपैयाँ खर्च गरेर ट्यांकी निर्माण गरेका थियौं । तर, अहिले नियमअनुसार भएन भनेर मुहानमा निर्माण भएको ट्यांकी भत्काइयो । पाइप काटियो,’ खानेपानी उपभोक्ता व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर तामाङले बताए । मुहान निर्माण गरेर गाउँलेले पानी खाइसकेको अवस्थामा निकुञ्जले अमानवीय व्यवहार देखाएको उनको आरोप छ । यस कदमले करिब तीनसय घरधुरीका पाँच हजार जनालाई प्रत्यक्ष असर परेको उनले बताए ।

यस विषयमा कुराकानी गर्न खोज्दा वार्डेन पन्तसँग फोन सम्पर्क हुन सकेन । मन्त्री खड्काले पानीको मुहानमा भत्काइएको विषयमा निकुञ्जसँग आफूले छलफल गर्ने र समस्या समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन् । उनले निकुञ्ज र गाउँले सहकार्य र समन्वय गरेर अगाडि बढ्न जरुरी रहेको औंल्याएका छन् । ‘कसरी गाउँलेले खानेपानी सहजै पाउँछन् त्यसतर्फ मेरो ध्यान रहनेछ,’ उनले भने ।

प्रकाशित : भाद्र २६, २०८१ ११:०२
×