कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

वाग्मती योजना आयोग उपाध्यक्षमा गंगादत्त नेपाल

भाद्र २६, २०८१
वाग्मती योजना आयोग उपाध्यक्षमा गंगादत्त नेपाल

मकवानपुर — वाग्मती प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गंगादत्त नेपाललाई नियुक्त गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सिन्धुपाल्चोकका नेपाललाई रिक्त रहेको उपाध्यक्ष पदमा नियुक्त गरेको हो । बैठकले आयोगका सदस्यमा काभ्रेका गुणराज मोक्तान र काठमाडौंका दीपेन्द्र श्रेष्ठलाई नियुक्ति दिइएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । श्रेष्ठ यसअघि पनि आयोगका सदस्य थिए ।

प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नुवाकोटका दीपक लामालाई नियुक्त गरिएको छ । समाजिक विकास मन्त्रालयको प्रस्तावमा खेलकुद मन्त्रालयको स्वीकृतिमा उनी नियुक्त भएको मन्त्री लामिछानेले जानकारी दिए । सामाजिक विकास मन्त्रालय विभाजन गरी खेलकुद मन्त्रालय कायम भए पनि कानुनी अड्चनका कारण सदस्य–सचिव नियुक्तिमा समस्या हुँदै आइरहेको थियो ।

बैठकले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कर्मचारी दरबन्दी स्वीकृत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको स्वीकृति नहुँदा अघिल्लो बैठकमा यो एजेन्डा रोकिएको थियो ।

यसका साथै बुधबारको मन्त्रिपरिषद्को वैठकले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको संघीय इकाईको कार्यालयका लागि प्रदेश सरकारले विनियोजन गरेको बजेट खर्चलाई पनि स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित : भाद्र २६, २०८१ १८:४१
×