कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रियाका क्रममा महिलाको मृत्यु

भाद्र ५, २०८१
भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रियाका क्रममा महिलाको मृत्यु

Highlights

  • आफन्तले शव बुझ्न नमानेपछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आकस्मिक बैठक

चितवन — भरतपुरको सरकारी अस्पतालमा पाठेघरको शल्यक्रियाका क्रममा मंगलबार राति एकजना महिलाको मृत्यु भएको छ । माइनर (साधारण) शल्यक्रिया गर्दा नै महिलाको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

घटनाका बारेमा भरतपुर अस्पतालले आन्तरिक छानबिन समिति बनाएको छ । यसबारेमा छलफल गर्न चितवन जिल्ला प्रशासन कार्यालयमा सुरक्षा समितिको आकस्मिक बैठक बस्दै छ ।

चितवन जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणअनुसार भदौ ३ गते सोमबार मध्याह्न भरतपुर महानगरपालिका–१२ मुनाल चोककी ३९ वर्षीया सम्झना काफ्ले भरतपुर अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन् । पाठेघरमा ट्युमर पलाएको हुँदा मंगलबार शल्यक्रियाका लागि उनको पालो परेको थियो । मंगलबार बिहान नौ बजे उनलाई अप्रेशन थिएटरमा लगिएको थियो ।

‘ठूलो ट्युमर थिएन । त्यसैले मेजर अप्रेशन हैन । बिनाचिरफार दूरबिन छिराएर बायोप्सीका लागि पाठेघरको मासुको अंश झिक्न खोजेको हो । त्यसैले ठूलो अप्रेशनपछि उहाँको पालो आउँदा दुई बजेतिर बेहोस बनाउन औषधि दिइएको थियो,’ भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा.कृष्णप्रसाद पौडेलले भने । दुरबिन छिराउनेबित्तिकै समस्या देखिएपछि आईसीयूमा राखेको काफ्लेको हिजो राति साढे १० बजे मृत्यु भएको हो ।

अचानक भएको हृदयघातले नै यस्तो भएको हुन सक्ने डा.पौडेलले बताए । ‘यसका बारेमा अध्ययन गरेर प्रतिवेदन दिन अस्पतालका मुटुरोग विषेशज्ञ डा.मणि गौतमको नेतृत्यमा छानबिन समिति बनाएका छौं । तर उहाँका आफन्तहरूले शव बुझ्नु भएको छैन । थप छलफलका लागि आज बुधबार चितवन जिल्ला प्रशासन कार्यालयमा बैठक छ,’ मेडिकल सुपेरिटेन्डेन्ट डा.पौडेलले भने ।

समन्वय र समाधान खोज्नका लागि सुरक्षा समितिको बैठक बस्न लागेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

प्रकाशित : भाद्र ५, २०८१ ११:३२
×